arrow

मन्त्री झाँक्री र सचिव सिंहबीच खटपट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
ramkumari-jhakri-ramesh-singh.jpg

काठमाडौं । एक महिना नबित्दै शहरी विकास मन्त्री रामकुमारी झाँक्री र शहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंहबीच खटपट शुरु भएको छ । मन्त्री झाँक्रीले शहरी विकास मन्त्रालय मातहतका कार्यालयमा सिंहले ल्याएका उच्च कर्मचारीहरुको धमाधम सरुवा गर्न थालेकी छिन् । सिंहका निकट मानिने कर्मचारीहरुलाई उनले छानी छानी सरुवा गरेकी छिन् । 

शुरुमै उनले भवन विभागका महानिर्देशक फेरिन् । त्यसपछि उनले अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता आयोजना समितिका महानिर्देशक परिवर्तन गरिन ।  

संघीय मन्त्रालय स्रोतका अनुसार झाँक्रीले मन्त्रालय मातहतका डेढ दर्जनभन्दा बढी उच्च कर्मचारीहरुको जिम्मेवारी फेरबदल गरेकी छन् । यसबाट मन्त्रीसँग सचिव सिंह चिढिएको स्रोतको भनाइ छ । 

झाँक्रीले विभागका तत्कालीन महानिर्देशक नवराज प्याकुरेललाई मन्त्रालयमा तानेकी छिन्  । त्यस ठाउँमा उनले पदम मैनालीलाई ल्याएकी छिन् । त्यसो त केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा मैनाली अन्यायमा परेका थिए । 

उनी वरिष्ठ सहसचिव हुँदा हुँदै पालो मिचेर तेश्रो नम्बरका सहसचिव प्याकुरेललाई तत्कालीन शहरी विकास मन्त्री कृष्णगोपाल श्रष्ठले विभागको महानिर्देशक बनाएका थिए । 

झाँक्रीले अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता आयोजनाका प्रमुख रविन्द्र बोहरालाई मन्त्रालयमा तानेकी छिन् । उक्त आयोजनका सह–महानिर्देशक दिलिप भण्डारीलाई आयोजना प्रमुखको जिम्मेवारी दिएकी छिन् । यसबाट बोहरा मन्त्रीसँग चिढिएका छन् । बोहरा सचिव सिंहसँग निकट मानिन्छन् । 

यसैगरी झाँक्रीले सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख नारायण भण्डारीलाई मन्त्रालयमा तानेकी छिन् । मन्त्रालय स्रोतका अनुसार सचिवसँग निकै निकट मानिएकी काठमाडौं उपत्यका विकास प्राधिकरणकी प्रमुख जानुका ढकाललाई त्यहाँबाट हटाउन झाँक्रीले आफू निकट केही उच्च कर्मचारीहरुसँग सरसल्लाह गरेकी छिन् ।

ढकाल खुला परीक्षाबाट प्राधिकरणको प्रमुख आयुक्तमा नियुक्त भएकी हुन् । खुला परीक्षाबाट नियुक्त भएको कर्मचारीलाई सोझै हटाउँदा सर्वोच्चले उल्टयाउने सम्भावना हुने भएकोले कानूनी प्रक्रिया पूरा गरेर ढकाललाई हटाउन खोजिएको मन्त्रालय स्रोतले बतायो । यसको लागि झाँक्रीले आफू निकट कानून व्यावसायीसँग पनि सल्लाह गरेकी छिन् । 

मधेसी मूलका सिंह नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमा नेपालसँग बेला बेलामा भेट्ने गर्छन् । झाँक्री शहरी विकास मन्त्री नियुक्त भएपछि पनि उनले नेपालसँग भेट गरेका थिए । यसैगरी उनले भौतिक पूर्वाधार मन्त्री रेणु यादवसँग पनि भेट गरेका थिए । 

माधव नेपालसँगको भेटमा सचिवले आफ्नो विषयमा राम्रो कुरा नगरेको झाँक्रीको बुझाइ रहेको झाँक्री निकट स्रोतले बतायो । रेणु यादवसँग भेट गरेको विषयमा पनि झाँक्री सचिव सिंहसँग खुशी नभएको स्रोतको दावी छ ।  

सचिवले बढी चलखेल गरेको बुझाईं मन्त्रीको रहेको स्रोतले बतायो । ‘यसपछि मन्त्री र सचिवबीच सम्बन्ध बिग्रन थाल्यो’, स्रोतले भन्यो । मन्त्रीसँग सम्बन्ध बिग्रेपछि सचिव सिंह शहरी विकास मन्त्रालय छाडेर भौतिक पूर्वाधार मन्त्रालय जान चाहेको स्रोतको भनाइ छ । ‘मन्त्रीसित सँगै बसेर काम गर्न सक्ने स्थिति नआएपछि उहाँ आफै सरुवा हुन चाहेको बुझिन्छ’, सिंह निकट स्रोतले भन्यो । 

यसैबीच सिंहले भौतिक पूर्वाधार मन्त्री यादवसँग राम्रो सम्बन्ध बनाएको स्रोतको भनाइ छ । तर शहरी विकास मन्त्री झाँक्री भने सिंहलाई उर्जा आयोगमा थन्क्याउने सोचमा रहेको मन्त्री निकट स्रोतको दाबी छ । 

सिंह प्राविधिक समूहका सचिव हुन् । त्यसैले उनको लागि भौतिक पूर्वाधार, शहरी विकास, उर्जा आयोगलगायत केही थोरै ठाउँमा मात्र दरबन्दी मिल्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ