प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन भोलि : कोको हुन्छन् मतदाता ?
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
725
Shares
काठमाडौँ। नेपाली काँग्रेसले १४औँ महाधिवेशन अन्तर्गत भोलि शुक्रवार ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न हुँदै छ।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले प्रदेश सभा निर्वाचन क्षेत्र अन्तर्गतका क्षेत्रमा शुक्रवार अधिवेशनको तयारी भएको जानकारी दिए। केहीमा भने अधिवेशन भइसकेका छन्।
उनका अनुसार केही विवादित स्थानमा बाहेक अन्य स्थानमा सोही दिन प्रदेश सभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुनेछ। सो अधिवेशनबाट चुनिने नेतृत्वले प्रदेश सभा क्षेत्र अन्तर्गतमा रहेर पार्टीको नेतृत्व सम्हाल्न अघि बढ्ने अवसर पाउने छन्।
प्रदेश सभा निर्वाचनमा सो क्षेत्र भित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिका वडा अधिवेशनबाट निर्वाचित प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, प्रदेश सभा निर्वाचन क्षेत्र भित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिकाका कार्य समितिका सभापति र वडा कार्य समितिका सभापति मतदाता हुनेछन् ।
यसैगरी सो क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवम् पूर्व पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय सभापति, सङ्घीय सांसदका सदस्य र उम्मेदवार, प्रदेशसभाका सदस्य र उम्मेदवार एक अवधिका लागि क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुने व्यवस्था काँग्रेसको विधानमा छ।
विधान अनुसार प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिले प्रदेशसभा क्षेत्रीय अधिवेशनको सभापतित्व गर्नेछ।
यस्तै गाउँ/नगर/उपमहानगर/महानगर अधिवेशनबाट निर्वाचित अपाङ्गता भएका प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रतिनिधि पनि हुनेछन्। प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट प्रदेश अधिवेशन प्रतिनिधिको निर्वाचन हुनेछ।
काँग्रेसले प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनपछि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन ६ मङ्सिर र एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन १० मङ्सिरका लागि तय गरेको छ।
यसै गरी सातै प्रदेशमा प्रदेश अधिवेशन १६ र १७ मङ्सिरमा हुने निर्वाचन समितिले जनाएको छ। काँग्रेसको केन्द्रीय महाधिवेशन २४, २५ र २६ मङ्सिरमा काठमाडौँमा हुँदै छ।