कांग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै, यी हुन् मतदाता
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
943
Shares
काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशन अन्तर्गत शुक्रबार प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ । वडा र पालिका तहको अधिवेशन भइसकेका जिल्लामा प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको हो ।
यो अधिवेशनले कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गर्नेछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले प्रदेश सभा निर्वाचन क्षेत्र अन्तर्गतका क्षेत्रमा अधिवेशन हुने जानकारी दिए । तयारी पूरा भएको पनि उनले बताएका छन् ।
१४ वटा जिल्लामा भने सबै तहको अधिवेशन सम्पन्न भइसकेको छ । यादवका अनुसार केही विवादित स्थानमा बाहेक अन्य स्थानमा शुक्रबारै प्रदेश सभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुनेछ ।
सो अधिवेशनबाट चुनिने नेतृत्वले प्रदेश सभा क्षेत्र अन्तर्गतमा रहेर पार्टीको नेतृत्व सम्हाल्न अघि बढ्ने अवसर पाउने छन् । प्रदेश सभा निर्वाचनमा सो क्षेत्र भित्रका गाउँ–नगर–उपमहानगर–महानगरपालिका वडा अधिवेशनबाट निर्वाचित प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, प्रदेश सभा निर्वाचन क्षेत्र भित्रका गाउँ–नगर–उपमहानगर–महानगरपालिकाका कार्य समितिका सभापति र वडा कार्य समितिका सभापति मतदाता हुनेछन् ।
यसैगरी सो क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवम् पूर्व पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय सभापति, सङ्घीय सांसदका सदस्य र उम्मेदवार, प्रदेशसभाका सदस्य र उम्मेदवार एक अवधिका लागि क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुने व्यवस्था कांग्रेसको विधानमा छ।
विधान अनुसार प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिले प्रदेशसभा क्षेत्रीय अधिवेशनको सभापतित्व गर्नेछ । यस्तै गाउँ–नगर–उपमहानगर–महानगर अधिवेशनबाट निर्वाचित अपाङ्गता भएका प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रतिनिधि पनि हुने छन् । प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट प्रदेश अधिवेशन प्रतिनिधिको निर्वाचन हुनेछ ।
कांग्रेसले प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनपछि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन ६ मंसिर र एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन १० मंसिरका लागि तय गरेको छ।
यसैगरी सातै प्रदेशमा प्रदेश अधिवेशन १६ र १७ मंसिरमा हुने निर्वाचन समितिले जनाएको छ। कांग्रेसको केन्द्रीय महाधिवेशन २४, २५ र २६ मंसिरमा काठमाडौँमा हुनेछ ।