- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले आइतबार पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका छन् । बैठकमा सहभागी हुन आइतबार पार्टीका कार्यकारिणी समितिका सदस्यहरूलाई काठमाडौँ बोलाइएको कार्यकारिणी सदस्य मृगेन्द्रसिंह यादवले बताए । उनका अनुसार बैठकको एजेन्डा बारेमा जानकारी गराइएको छैन।
पार्टी स्रोतका अनुसार आइतबारको बैठकमा पार्टीका सांसद प्रदीप यादवमाथि गरिएको कारबाहीको प्रक्रिया बारेमा छलफल हुने भएको छ। अध्यक्ष यादवले तिहार अघि प्रदीप यादवलाई ३ दिने स्पष्टीकरण सोध्न लगाएका थिए। पार्टी अध्यक्ष यादवको पुत्ला पार्टी कार्यालय अगाडि जलाइएको तथा पार्टी अध्यक्षमाथि गालीगलौज गरिएको आरोप प्रदीप यादवमाथि लगाइएको छ।
प्रदीप यादव निकट स्रोतका अनुसार उनले आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन्। मन्त्रीको सूचिबाट आफ्नो नाम हटाइए पछि प्रमोद साह र प्रदीप यादव अध्यक्ष उपेन्द्र यादवसँग रुष्ट भएका छन्। प्रमोद साहले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमा पोखे भने प्रदीप यादवले आफ्ना कार्यकर्ताहरूलाई काठमाडौँ बोलाएर पार्टी कार्यालयमा पार्टी अध्यक्ष विरुद्ध नाराबाजी गर्न लगाए। प्रदीप यादवको यस्तो गतिविधिसँग पार्टी अध्यक्ष असन्तुष्ट भएका छन्।
स्रोतका अनुसार प्रदीप यादवमाथि थप कारबाही अघि नबढाउन उपेन्द्र निकट नेताहरूले उनलाई सुझाव दिएका छन्। ‘हामीले स्पष्टीकरण सोधिसक्यौ। यो भन्दा अरू केही नगरौँ भनी अध्यक्ष ज्युलाई सुझाव दिएका छौ’उपेन्द्र यादव निकट एक कार्यकारिणी सदस्यले बताए।
यसैगरी आइतबारको बैठकमा जसपा बाट मन्त्री भएका ४ जना नेताहरू महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रासहाय यादव र रेण यादवले सरकारमा गरेको कामको बारेमा पनि छलफल हुने भएको छ।
४ जना मन्त्रीले गरेको कामको बारेमा पार्टीका सांसदहरूलाई चित्त बुझेको छैन। मन्त्रीहरूले पार्टीका सांसदहरूलाई समेत नभेटेको, एकलौटी निर्णय गरेको, पार्टीको भन्दा बाहिरको मान्छेलाई सचिवालयमा भर्ना गरेको जस्ता आरोप ४ मन्त्रीमाथि लागेका छन्। स्रोतका अनुसार ४ जना मन्त्रीको काम देखि स्वयम पार्टी अध्यक्ष उपेन्द्र यादव त्यति सन्तुष्ट छैनन्।
सरकारमा गएका जसपाका ४ जना मन्त्रीहरूमध्ये महेन्द्र यादव, रेणु यादव र राजेन्द्र श्रेष्ठ यसअघि सरकारमा गइसकेका छन् भने रामसहाय यादव यसपालि पहिलो पटक सरकारमा गएका हुन्।