कांग्रेसभित्र संस्थापनका नेताहरु वर्चश्व स्थापित गर्न लाग्दा इतर पक्ष शक्तिशाली बन्दै
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७८ मंसिर ५ आइतबार
1.1k
Shares
कञ्चनपुर । नेपाली कांग्रेसमा देशब्यापी रुपमा १४ औं महाधिवेशनको रन्को चलिरहेको छ । यसबीचमा कञ्चनपुरमा संस्थापन पक्षका नेताहरुबीच आफ्नो वर्चश्व स्थापित गर्ने होड चलेका बेला कञ्चनपुरमा भने ईतर समूहका नेता शक्तिशाली बन्दै गएका छन् ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्र नेता एनपी सावद र रमेश लेखक फरकफरक गुट निर्माण गरेर भिड्दै गएपछि कञ्चनपुरमा ईतर समूहका नेता संविधान सभा सदस्य दिवान सिंह विष्ट शक्तिशाली बन्दै गएका छन् ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ का चार वटै पालिका अधिवेशनमा आफ्नो वर्चस्व कायम राखेका ईतर समूहका नेता विष्ट प्रदेश कार्य समितिको अधिवेशनबाट अझ बलियो देखिएका छन् ।
जिल्लामा सावद–लेखक समूहबीच प्रतिस्पर्धा बढ्दै गएपछि संस्थापन पक्षका नेता सावद र इतर समूहका नेता विष्ट एक भएर लागेपछि जिल्लाको राजनीतिमा इतर समूहका नेता विष्टको प्रभाव बढेको हो ।
१४ औं महाधिवेशनको मध्यतिर नेता सावद–विष्टबीच एलायन्स बनेपछि जिल्ला राजनीतिमा लेखक समूह कमजोर बन्दै गएको छ । क्षेत्र नम्बर १ मा देखिएको नेता सावद र विष्टबीचको एलायन्स यथास्थितिमा कायमै रहे यसअघि लेखक पक्षमा रहेको जिल्ला नेतृत्व सावद–विष्टको पोल्टामा जाने निश्चित बनेको छ ।
१३ औं महाधिवेशनदेखिनै क्षेत्रमा बलिया देखिँदै आएका कांग्रेस नेता १४ औं महाधिवेशनमा भने थप मजबुत बन्न पुगेका छन् । कांग्रेस सभापति देउवाको गृह प्रदेशमा पछिल्लो समय जिल्लामा बलियो पकड बनाउन सफल इतर समूहका नेता विष्ट देखिएका छन् ।
नेता विष्टले निर्वाचन लड्दै आएको क्षेत्र नम्बर १ का चार वटै पालिका र दुई वटा प्रदेश कार्यसमितिमा उनी पक्षिय नेताहरुले नेतृत्व हात पार्न सफल भएका छन् ।