arrow
ADVERTISEMENT

कांग्रेस काठमाडौंका २० प्रदेश सभामध्ये संस्थापनलाई जम्मा चार 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
congress-14th-general-convention111.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौंका २० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नेतृत्व चयन भएको छ । यी २० प्रदेश निर्वाचन क्षेत्रको परिणाममा संस्थापन भन्दा इतर समूह बलियो देखिएको छ । 

१० वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको काठमाडौंमा प्रदेश सभा अन्तर्गत २० वटा निर्वाचन क्षेत्र छन् । ती प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसले शुक्रबार र शनिबार गरेर नयाँ विधान अनुसार नेतृत्व चयन गरेको हो ।

जसअनुसार १६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा संस्थापन इतर समूह निर्वाचित बनेको छ भने चार वटामा संस्थापन समूहका उम्मेदवार निर्वाचित भएका छन् । 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ (क) मा प्रह्लाद कार्की र (ख) मा सुमन श्रेष्ठ निर्विरोध चयन भएका छन् । उनीहरु दुबै जना नेता प्रकाशमान सिंह निकट हुन् । यो सिंहको निर्वाचन क्षेत्र पनि हो । 

यसैगरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (क) को सभापतिमा ध्रुव केसी र (ख) मा उद्धव खड्का निर्वाचित भएका छन् । उनीहरु पनि सिंह र नेता गगन थापा निकट हुन् । यो क्षेत्रमा यसअघि संस्थापन समूह बलियो रहेको दाबी गरिएको थियो ।
 
यस्तै निर्वाचन क्षेत्र नम्बर ३ (क) मा श्रीराम चालिसे सभापति निर्वाचित भएका छन् उनी सिंह निकट हुन् । (ख) मा विमल ठकुरी निर्वाचित भएका छन् उनी संस्थापन निकट मानिन्छन् ।
 
त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ को (क) मा विमल हाडा निर्वाचित भएका छन् भने (ख) मा रामप्रसाद लुईटेल सर्वसम्मत चुनिएका छन् । उनीहरु दुवै जना सिंह र थापा निकट हुन् । यो नेता थापाको निर्वाचन क्षेत्रसमेत हो । 

यसैगरी निर्वाचन क्षेत्र नम्बर ५ को (क) मा दिनेश डंगोल निर्वाचित भएका छन् भने (ख) मा राजु खड्का विजयी भएका छन् । उनीहरु संस्थापन समूहका हुन् । क्षेत्र नम्बर ५ कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतको निर्वाचन क्षेत्र हो । 

यस्तै निर्वाचन क्षेत्र नम्बर ६ को प्रदेश सभा निर्वाचन क्षेत्र (क) को सभापतिमा खेमराज तिवारी सर्वसम्मत चयन भएका छन् । उनी सिंह निकट मानिन्छन् । यस्तै (ख) मा निर्वाचित विष्णुभक्त तिमिल्सिना सोही क्षेत्रका सांसद भीमसेनदास प्रधान निकट हुन् । तिमिल्सिना संस्थापन समूहसँग निकट छन् ।
 
काठमाडौं क्षेत्र नम्बर ७ को प्रदेश सभा (क) को क्षेत्रीय सभापतिमा नविन मानन्धर तथा (ख) मा बासुदेव लामा निर्वाचित भएका छन् । उनीहरु दुवै जना सिंह निकट हुन् ।
 
यस्तै क्षेत्र नम्बर ८ (क) को सभापतिमा इन्द्रमान सिंह सुवाल र (ख) मा शिव खनाल निर्वाचित भएका छन् । उनीहरु दुबै संस्थापन इतरका हुन् ।  निर्वाचन क्षेत्र नम्बर ९ मा प्रदेश सभा (क) को सभापतिमा मोहनकुमार बस्नेत र (ख) मा राजेन्द्र भट्टराई चयन भएका छन् । उनीहरु दुवै संस्थापन इतरका हुन् ।
 
यसैगरी निर्वाचन क्षेत्र नम्बर १० को (क) मा शैलेश मानन्धर र (ख) मा धर्मानन्द श्रेष्ठ प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिमा चयन भएको निर्वाचन समितिले जनाएको छ । उनीहरु सिंह निकट छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ