- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालको लोकतान्त्रिक आन्दोलनको पर्याय बनेको नेपाली कांग्रेस पार्टीले २००७ सालदेखि २०४६ हुँदै २०६२/०६३ सालका आन्दोलनहरुमा अग्रणी भूमिका खेलेको छ। जनयुद्धको अन्त्य, हतियार व्यवस्थापन, संविधानसभाको निर्वाचन तथा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणामा नेपाली कांग्रेसको भूमिका नेतृत्वदायी रहेको छ।
कांग्रेसकै कारण शान्ति प्रक्रिया र संविधान निर्माण सम्भव भएको हो। निरंकुश राणा, पंचायत हुँदै जंगल पसेका कम्युनिस्ट घटकहरूलाई लोकतन्त्रको मूलबाटोमा ल्याउन र मुलुकमा लोकतन्त्रको दरिलो जग बसाल्न कांग्रेसको योगदान अतुलनीय छ ।
नेपाली कांग्रेसका प्रधानमन्त्रीहरूले राणा शासनको अन्त्य पछि र आम निर्वाचन २०१५ मा, नेपालको पहिलो प्रजातान्त्रिक तवरले निर्वाचित सरकार लगायत पञ्चायत युगको शुरुवातका बीच चारवटा सरकारको नेतृत्व गरेका थिए। नेपाली कांग्रेसले तीन वटा चुनावमा बहुमत ल्याएको र दुई चुनावबाट पहिलो दल बन्न सफल भएको इतिहास छ।
यसअघि गत निर्वाचनमा कांग्रेसलाई घेराबन्दीमा पार्न रातारात दुई कम्युनिस्ट पार्टी एकताको घोषणा गरेका थिए र करिब २ तिहाई मत ल्याउन सफल भएका थिए । कांग्रेस केन्द्रदेखि सातै प्रदेशमा प्रतिपक्षमा बस्नु परेको थियो । भलै त्यो अपवित्र बाम गठबन्धन टिकेन र आफ़्नै कारणले सरकार ढल्यो । तर कम्युनिष्ट बिग्रीएर कांग्रेस सत्तामा पुग्ने संयोग आउनु भन्दा कांग्रेस आफैं जनता जनार्दनको मन जितेर अघि बढ़नुपर्छ ।
यो पराजयसंगै कांग्रेसले पाठ सिकेर सच्चीन र जन समर्पित बन्न जरूरी छ । कांग्रेस कसैको बैशाखी टेकेर सत्तामा जाने हैसियतको पार्टी हैन । तर बिडम्बना दलमा हुर्केको चरम गुटवाद, विकृति र विसंगतिले गर्दा आज आंतरिक कलहमा बाझिएर अलमलमा परेको भान हुने गरेको छ ।
विगत यति गौरवशाली हुँदाहुँदै पनि पार्टीले राष्ट्रको सर्वोपरि विकासमा ध्यान केंद्रित गर्न चुकेका कारण नेपालमा माओवाद र कम्युनिस्टको प्रभाव बढ्ने मौक़ा पाएको हो । नेतृत्वमा रहेकाहरूमा चरम व्यक्तिवादी प्रवृत्ति हावी हुनु बीपीले देखेको समाजवादको बाटो बिराएर नीति, सिद्धांत र पद्धति भन्दा पद र सत्तामुखी बन्ने परिपाटी हावी हुनु बिडम्बनाको कुरा हो ।
जसरी नेपालको सबैखाले आन्दोलन र परिवर्तनमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका रह्यो त्यसरी नै मुलुकको समृद्धि र विकासमा नेपाली कांग्रेसले अग्रणी भूमिका र जिम्मेवारी निर्वाह गर्नु पर्ने बेला आएको छ । कांग्रेस आंदोलन मात्र हैन विकास र समाजवाद लागू गर्न पनि सक्षम भएको प्रमाणित गर्ने समय आएको छ ।
यसका निम्ति निम्न विषयमा कांग्रेसको ध्यान जान जरुरी देखिन्छः
–आसन्न महाधिवेशनमा सक्षम र समाजमा स्थापित ब्यक्तिहरूलाई चुनेर संगठन विस्तारमा ब्यापकता ल्याउने गहन ज़िम्मेवारी हरेक कार्यकर्तामाथि रहेको छ ।
–पार्टीभित्र ठेकेदारी तथा दलाली प्रथा निरुत्साहित गर्न पार्टीमा योगदान र क्षमताका आधारमा ज़िम्मेवारी र कार्य विभाजन ज़रूरी छ । पैसा र पहुँचका आधारमा विना योगदान पद र जिम्मेवारीको सौदाबाज़ी निरुत्साहित गर्न जरुरी भएको छ ।
–युवा उमेरले मात्र हुने हैन विचार र योगदानले हुने हो । दलको युवा पुस्तालाई नेतृत्वमा अघी ल्याउन नेतृत्व विकास क्षमताको विकास गरी रणनीतिक योजना ल्याउनुपर्ने आवश्यकता छ ।
–भट्टी र कोठामा बसेर गरिने षडयन्त्र, गुट र माफिया शैलीको राजनीति त्यागेर जनताको मन जित्ने जनताका दैनिक समस्यामा साथ दिने काममा लगेका स्वयंसेवी नेता कार्यकर्तालाई प्रोत्साहन गर्नुपर्ने छ।
–आगामी चुनावमा पार्टीलाई स्थापित गर्न सरकारलाई जिम्मेवार भएर जनमुखी काम गर्न र गराउन पार्टीका हरेक तह र तप्काबाट सहयोग गर्नुपर्ने र यसै अनुसार प्रशिक्षण र योजना तर्जुमा गर्न जरुरी छ ।
–पार्टीमा नेतृत्वको मात्र लडाइ देखिएको छ तर पार्टीलाई व्यक्ति होइन विचार, पद होइन पद्धति, सत्ता होइन समाज, नेता होइन नीतिको मूल मर्म र आदर्शमा आधारित नीति प्रधान राजनीति स्थापित हुन आवश्यक छ।
–पार्टीलाई जनतासम्म जोड्न विभिन्न पेसा र ब्यवसायका व्यक्तिहरूलाई जोड़ेर स्वयमसेवी संजाल निर्माण गरी स्थानीय विकास तथा आजीवीका सम्बन्धी हरेक समस्याहरू समाधानमा निरन्तर पहल गर्ने । पार्टीलाई नेतामुखी, सत्ता र पैसामुखी भन्दा जनमुखी स्वयंसेवी चरित्र निर्माण गर्ने ।
–सूचना प्रविधिको युगमा पार्टीका नेताहरूले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेतलाई गम्भीर ढङगले बुझ्न जरुरी छ । जनतासंग जोड़िएर स्वयंसेवी चरित्र निर्माण गर्न नसके पार्टीको भविष्य अन्योलमा रहने छ ।
यो परिवेशमा कांग्रेसले यस अघिको निर्वाचनको अवस्था सुधार गरेर अझ राम्रो गर्नुपर्ने आवश्यक्ता छ । पार्टीमा विकृति देखा परेका छन । सायद पुरानो विरासत बोकेको पार्टी भएर केही संक्रमण र माकुराले जालो लगाएको होला। यो स्थापित दलमाथि धेरैको आँखा परेको छ । स्वार्थ समूहले पार्टीलाई क़ब्ज़ा गरेर भ्रस्टीकरण गर्ने खतरा पनि उत्तिकै छ । पार्टीलाई आगामी चुनावमा बहुमतसहित ७ प्रदेश र केद्रमा स्थापित गर्न ब्यापक सुधार, मेलमिलाप र कुशल नेतृत्वको आवश्यक छ ।
यस संदर्भमा पार्टीको आसन्न १४ औ महाअधिवेसन सबै संक्रमण, जालोहरू सफा गर्ने, पार्टीको नीति तथा कार्यक्रमलाई सुधार गर्दै गिरिजाबाबूले भन्नुभए झैं सहमति, सहकार्य र एकताको सुरुवात गर्ने गतिलो अवसरका रूपमा महाधिवेशन आएको छ ।
कांग्रसका आम कार्यकर्ता तथा लोकतन्त्रप्रेमी जनसमुदायका सामु सबल नेतृत्व चयन गरी मुलुकमा बढ़ेको विकृति, अतिवाद, असमानता र विकासको यात्रालाई अघि बढ़ाउने ज़िम्मेवारी आएको छ । यो घड़ीमा संयम भई विचार गरेर नेतृत्व चुनौं ताकि हाम्रा पुस्ताको भविष्य अधंकारमा नपरोस् । तमाम ईमानदार कार्यकर्ताको समय र समाजमा भएको योगदानको दुरुपयोग नहोस् । हामीले मतदान गरेर चुनेको नेतृत्वसंग भोलि आफैं पछुताउनु नपरोस् । (लेखक कार्की रतुवामाई नगरपालिकाबाट मोरङ क्षेत्र नम्बर २ का क्षेत्रीय प्रतिनिधि तथा हाल केन्द्रीय महाअधिवेशन प्रतिनिधि (खस आर्य)का उम्मेद्वार हुन् ।)