arrow

आईसीसी महिला टी–२० क्रिकेटको पहिलो खेलमा नेपाल पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
nepali-mahila-cricket.jpeg
तस्वीर–फाइल ।

काठमाडौं । यूएईको दुबईमा शुरु भएको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको पहिलो खेलमै नेपाल पराजित भएको छ । नेपाल हङकङसँग पराजित भएको हो । 

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा सोमबार दिउँसो भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १०५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो ।

हङकङका लागि मारिको हिलले ३८ बलमा नटआउट रहँदै ४२ रन बनाइन् । कप्तान केरी चानले १७ तथा नताशा माइल्सले १६ रन जोडिन् । इमा लाईले १४ रन बनाइन् । 

नेपालका लागि कबिता कुँवर, सबनम राई र सीता राना मगरले समान १–१ विकेट लिए । 

नेपालको इनिङ्स
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको नोक्सानीमा १०४ रन जोडेको थियो । कबिता कुँवर दोस्रो बलमै आउट भएपछि केही तनावमा आएको नेपालका लागि अर्की ओपनर सीता रानामगरले सर्वाधिक ४० रन जोडिन् । 

उनले ५८ बल खेल्ने क्रममा ४ चौका प्रहार गरेकी थिइन् । इन्दु बर्माले ३७ बलमा नटआउट रहँदै ३१ रन जोडिन् । टेष्ट शैलीमा खेल्ने क्रममा काजल श्रेष्ठले २४ बल खेलेर मात्रै ४ रन जोडिन् । कप्तान रुबिना क्षेत्री २ रनमा नटआउट रहिन् । 

हङकङका लागि क्यारी चन र बेट्टी चनले समान १–१ विकेट लिए । 

नेपालले यसअघि कतारसँग तीन खेलको टी–२० सिरिज खेलेर ३–० को क्लिनस्विप गरेर पहिलो अन्तर्राष्ट्रिय टी–२० सिरिजमै सफलता हासिल गरेको थियो । 

नेपालको अबको खेल
पहिलो खेल हारे पनि नेपालको छनोटको सम्भावना रोकिएको छैन । नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्नेछ ।

तेस्रो खेल बिहीबार कुवेतविरुद्ध खेल्नेछ । चौथो खेल मलेसियासँग शुक्रबार खेल्नेछ । 

पाँचौं तथा अन्तिम खेल आइतबार युएईविरुद्ध खेल्नेछ । सहभागी ६ टिममध्ये शीर्ष स्थानको टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ