arrow

बैतडी काँग्रेसमा कडा प्रतिस्पर्धा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
Congress-convention-14-nepa.jpg

बैतडी । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत बैतडीमा जिल्ला सभापतिका लागि दुई जना चुनावी मैदानमा रहेका छन् । मङ्गलवार हुने निर्वाचनका लागि चतुर बहादुर चन्द र शिवराज भट्टले आआफ्नो समूह बनाएर नै चुनावी मैदानमा उत्रिएका हुन् ।  

जिल्लाको नयाँ नेतृत्व निर्वाचनमार्फत नै हुने देखिएको छ । यसअघि शनिवार सम्पन्न  दुई वटै प्रदेशसभा क्षेत्रको नेतृत्व पनि निर्वाचनबाटै चयन भएको थियो । प्रदेशसभा क्षेत्र (क)मा विष्णुप्रसाद भट्ट र प्रदेशसभा क्षेत्र (ख)मा शिवराज भट्ट विजयी भएका छन् । प्रदेश क्षेत्रमा सोचे अनुसारको नतिजा नआए पनि आफ्नो टिम जिल्लाका लागि कमजोर नभएको भट्ट समूहका सचिवका उम्मेदवार रमेशसिंह भण्डारीको दाबी छ । उनले भने, “नेतृत्व हाम्रो टिमले पाउनेमा ढुक्क छौँ ।”

यता चन्द समूह भने प्रदेशसभाको नतिजा हेर्दा आफू जित्नेमा ढुक्क रहेको छ । प्रदेशसभाको नतिजाले पनि अगाडि रहेकाले जिल्लाको नेतृत्व आफ्नो टिमले चन्द समूहबाट उपसभापतिका उम्मेदवार रमेश पाण्डेयले बताए । चतुर बहादुरको प्यानलबाट उपसभापतिमा रमेश पाण्डेय र खगेन्द्रसिंह धामी, सचिवमा प्रेमबहादुर चन्द र देवराज जोशी, सहसचिवका लागि दीपेन्द्रबहादुर चन्द र दशरथसिंह चाडको उम्मेदवारी रहेको छ । 

शिवराज प्यानलमा वीरबहादुर विष्ट र हरिसिंह धामी उपसभापति, सचिवमा रमेशसिंह भण्डारी र कर्णबहादुर बोहरा, सहसचिवमा रमेश कोली र घनश्याम भट्टको उम्मेदवारी घोषणा गरेका छन् । जिल्ला अधिवेशन मङ्सिर ७ गते तोकिएको छ जसमा एक हजार ४०० क्षेत्रीय प्रतिनिधिले मत खसाल्नेछन् ।



नयाँ