arrow

पोखरा मेयरका सम्भावित उम्मेदवार पालिखे काँग्रेसको जिल्ला सदस्यमा भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
Bishwo Shankar Palikhe.jpg

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विश्वशंकर पालिखे पुनः राजनीतिमा सक्रिय भएका छन् । 

नेपाली काँग्रेस कास्कीको महाधिवेशन सङ्घारमै उनले आफू राजनीतिमा सक्रिय हुने उल्लेख गरेका छन् । 

उनले कास्की काँग्रेसको कार्यसमितिबाट आफ्ना राजनीतिक यात्रालाई अघि बढाउने बताएका छन् ।

योसँगै पालिखेलाई पोखरा महानगरपालिकाको मेयरका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । 

नेपाली काँग्रेस पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छेलाई सभापतिमा जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

साथै उनीसँग कास्की काँग्रेस र केन्द्रका अधिकांश नेताहरू रिझाउन सक्ने क्षमता रहेको बताइन्छ । 

पालिखेले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो निकै राम्रो सम्बन्ध रहेको बताएका छन् । उनले पार्टीले दिएको जुनसुकै जिम्मेवारी बहन गर्ने स्पष्ट पारेका छन् । 

उनी पोखराको विकासका बारेमा राम्रैसँग जानकारी राख्न सक्ने व्यक्तित्वमा पनि पर्दछन् ।

साथै छिमेकी मुलुक चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न सफल भएका पालिखे मेयर भएमा पोखरामा चिनिया लगानी भित्र्याउन सकिने धरैको विश्वास पनि छ ।

उनी पोखराका लागि परिचित अनुहार हुन् । पोखरामा उनी सञ्चार उद्यमी, व्यवसायी र अग्रज समाजसेवीको हिसाबले परिचित छन् ।

उनले पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुँदा उज्यालो पोखरा अभियान सञ्चालन गर्दै पोखराका विभिन्न सडकमा सौर्यवत्ति राख्न र पोखराको खानेपानी शुद्धीकरण गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

पालिखे राजनीतिमा पनि नयाँ अनुहार होइन । उनले २०२९ सालमै नेविसंघबाट राजनीति सुरुआत गरेका थिए । उनले मङ्गलवार पत्रकारमाझ कास्की काँग्रेसको जिल्ला सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । 

पालिखेले २०४८ सालको संसदीय निर्वाचन, २०४९ सालको स्थानीय निर्वाचन, २०५१ सालको उपनिर्वाचन, २०५४ सालको स्थानीय निर्वाचन, २०५६ सालको संसदीय निर्वाचन, २०७४ सालको संसदीय निर्वाचन तथा स्थानीय र प्रदेश निर्वाचनसहित २०७७ सालको उपनिर्वाचनमा कास्की क्षेत्र नं २ र पोखरा उपमहानगरपालिकामा नेपाली काँग्रेसको प्रचार समिति, युवा परिचालन समितिमा रहेर निकै महत्त्वपूर्ण भूमिका खेलेको बताए । 

गुट र उपगुट भन्दा माथि उठेर राजनीति गर्न कास्की काँग्रेसको जिल्ला सदस्यमा उम्मेदवारी दिन लागेको उनले स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ