arrow

कांग्रेस युवा नेतृ शोभा अधिकारीद्वारा गण्डकी प्रदेश सदस्यमा उम्मेदवारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
shova-adhikari-congress.jpg

पोखरा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश सदस्यमा युवा नेतृ शोभा अधिकारीले उम्मेदवारी दिने घोषणा गरेकी छिन् । गोरखा क्षेत्र नम्बर २ बाट कांग्रेस महासमिति सदस्य रहेकी नेतृ अधिकारी लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छिन् । नेतृ अधिकारीले महिला कोटा गोरखा जिल्लाबाट उम्मेदवारी दिन थालेकी हुन् । 

२०५० सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय अधिकारी २०५७ सालमा पद्मकन्या क्याम्पसबाट स्वतन्त्र विद्यार्थी यूनियनको उपसभापतिमा निर्वाचित भएकी थिइन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त्यतिबेला कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको नेतृत्व सम्हालिरहँदा अधिकारी पद्मकन्या क्याम्पसमा उपसभापति भएपछि शर्मासँगै विद्यार्थीको हकहितका लागि लडिरहेकी थिइन् ।

राजनीतिक क्षेत्रमा अघि बढ्दै गर्दा उनले नेपाली विद्यार्थी आन्दोलनमा समेत उल्लेख्य योगदान दिइन् । नेविसंघको प्रतिनिधित्व गर्दै अधिकारीले लामो समय युवा महिला विद्यार्थीहरुको आन्दोलनको नेतृत्व गरिन् ।

यस सँगसँगै भूतपूर्व सैनिक संघको महिला विभागको महासचिवसमेत रहेकी अधिकारी गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायतका युवा नेताहरुसँगै कांग्रेसको राजनीतिक एवं सामाजिक क्षेत्रमा योगदान दिने मध्येकी एक हुन् ।

उनले नेविसंघको तीन कार्यकालमा केन्द्रीय समिति सदस्य रहेर योगदान दिएकी छिन् । करिब साढे दुई दशक अघिदेखि विद्यार्थी राजनीतिमा सक्रिय हुँदै पार्टीको राजनीतिमा प्रवेश गरेकी उनी कांग्रेसको राजनीतिक क्षेत्रकी एक योग्य नेतृ हुन् ।

नेताहरु गुरूराज घिमिरे, केशब सिंह, महेन्द्र शर्माले नेविसंघको नेतृत्व सम्हाल्दा अधिकारी नेविसंघको केन्द्रीय सदस्य भएर योगदान दिँदै आएकी थिइन् ।  नेविसंघमा काम गरिरहँदा खास गरी गरिब, मजदूरको हकहित र समानताको आवाजलाई नारा बनाउँदै गरिएका आन्दोलनमा उनले उल्लेख्य योगदान दिएकी थिइन् । 

समाजमा ब्याप्त अन्याय, अत्याचार र हिंसात्मक घटनाविरुद्ध आवाज मात्रै हैन कलमसमेत चलाएर उनले अहम् भूमिका निर्वाह गर्दै आएकी छिन् । उनले दुई दशक यतादेखि नै देशका प्रमुख सञ्चार माध्यमबाट समाजका विकृति, विसंगतिविरुद्ध टिप्पणी एवं लेख प्रकाशन गर्दै आएकी छिन् ।

गगन थापा र प्रदीप पौडेलसँगै कार्यसमितिमा रहेर नेविसंघका हरेक पाइलाहरुमा उनले योगदान दिएकी छिन् । यस सँगसँगै उनी गोरखा काठमाडौँ समाजकी उपाध्यक्षसमेत रहेकी थिइन् ।

नेपाली समाजमा महिलाको अग्रगामी भूमिकाले अझै गति लिन नसकेको अवस्थामा उनले विगत लामो समयदेखि नै महिला, मानव अधिकार एवं सर्वसाधारणको हकहितका लागि लड्न शुरु गरेकी थिइन् । 

महिला भएर राजनीतिमा होमिन दुःख र कष्टकर रहेको उनी बताउँछिन् । तर पनि आफूले निकै दुःख, कष्ट र संघर्ष गरेर राजनीतिक यात्रालाई निरन्तरता दिएको उनको भनाइ छ । ‘हाम्रो पालामा महिलाहरुलाई राजनीतिमा आउन अहिले जस्तो सहज थिएन, त्यति मात्रै हैन, म एक सर्वस्वहरण भएको परिवारको सदस्य पनि हो’ उनी भन्छिन् । 

लामो समयको द्धन्द्धकालमा राजनीतिक उतारचढावका वर्णन गर्न नसकिने अनुभवहरु रहेको उनको भनाइ छ । यतिसम्म की वर्षौँसम्म आफ्नो घरमै जान नसकिने अवस्था रहेको कुरा उनी बताउँछिन् । उनले भनिन्, ‘त्यतिबेला त हामीले विस्थापित जीवन बिताएका थियौँ ।’

समृद्धिका लागि क्रान्तिसँगै शिक्षा अत्यावश्यक भएको बताउने नेतृ शोभाले दुई संकायमा स्नातकोत्तर हासिल गरेकी छिन् । यति मात्रै हैन शैक्षिक क्षेत्रमा नेतृ अधिकारीले १२ वर्षको अनुभव बटुलेकी छिन् ।

समाजलाई उकास्न महिलाहरुको अग्रसरता अत्यावश्यक रहेको बताउने उनले समानता र समृद्धिका लागि योग्य, सक्षम, क्षमतावान र पढेलेखेका महिलाहरू समेत पार्टी राजनीतिमा आउन जरुरी रहेको बताइन् ।

राजनीतिमा सक्रियता सँगसँगै उनले गाउँ समाजको हकहितका लागिसमेत निरन्तर काम गर्दै आएकी छिन् । गोरखामा जन्म भए पनि अध्ययनका शिलशिलामा उनले लमजुङमा केही वर्ष बिताएकी थिइन् । यसैले पनि लमजुङसँग निकै भावनात्मक सम्बन्ध रहेको उनी बताउँछिन् ।

संगठन विस्तार गर्ने क्रममा, विभिन्न विषयमा प्रशिक्षण दिनको लागि एवं जनताको हकहितका लागि लड्ने क्रममा उनी गण्डकीका विभिन्न जिल्लामा पुगेकी छिन् । यतिमात्रै हैन नेविसंघको केन्द्रीय समितिमा रहँदा विभिन्न जिल्लामा नेविसंघको जिल्ला अधिवेशन गराउनसमेत उनी पुगेकी छिन् । 

कांग्रेसले पार्टीमा शिक्षित र अनुभवी युवालाई स्थान दिइरहेका बेला उनी लगायतका युवा नेतृ एवं नेताहरुलाई प्रतिनिधहरुले सहर्षरुपमा स्वागत गरिरहेका छिन् । 

जीवनको महत्वपूर्ण उत्पादनशील समय देश, जनता र लोकतन्त्रको लागि खर्चेको बताउने अधिकारी एक उर्जाशील महिला नेतृ हुन् । सबै पक्षको सहयोग, माया, स्नेह र आग्रहका साथ गण्डकी प्रदेशको सदस्य पदमा उम्मेदवारी दिएको उनले बताइन् । 

विगतमा दिएका योगदान, अनुभव र दक्षतालाई आधार बनाउँदै सबै पक्षलाई आफ्नो जितका लागि हार्दिक अनुरोध गर्दै अधिकारीले जित सुनिश्चित भएको बताएकी छिन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ