arrow

नेतृ शोभा अधिकारीले कांग्रेसको गण्डकी प्रदेश सदस्यमा उम्मेदवारी दिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
shova adhikari6.jpg

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा गोरखा जिल्लाबाट गण्डकी प्रदेश सदस्यमा युवा नेतृ शोभा अधिकारीले उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

गोरखा क्षेत्र नम्बर २ बाट कांग्रेस महासमिति सदस्य रहेकी नेतृ शोभा अधिकारी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छिन् ।विसं २०५० देखि विद्यार्थी राजनीतिमा सक्रिय नेतृ अधिकारी विसं २०५७ सालमा पद्मकन्या (पीके)क्याम्पसबाट स्वतन्त्र विद्यार्थी यूनियनको उपसभापतिमा निर्वाचित भएकी थिइन् ।

युवा नेता बिश्वप्रकाश शर्माले नेविसंघको नेतृत्व सम्हालिरहँदा उनी पद्मकन्या क्याम्पसमा उपसभापतिको पदमा रहेर नेता शर्मासँगै विद्यार्थीको हकहितका लागि लडिरहेकी थिइन् । नेपाली कांग्रेसको भातृसंगठन नेविसंघको राजनीतिकमा अघि बढ्दै गर्दा उनले विद्यार्थी आन्दोलनमा समेत उल्लेख्य योगदान दिइन्। नेविसंघको प्रतिनिधित्व गर्दै अधिकारीले लामो समय युवा महिला विद्यार्थीहरुको आन्दोलनको नेतृत्व गरिन् ।

सँगसँगै भूतपूर्व सैनिक संघको महिला विभागको महासचिव समेत रहेकी उनी गगन थापा, विश्वप्रकास शर्मालगायतका युवानेताहरुसँगै कांग्रेसको राजनीतिक एवं सामाजिक क्षेत्रमा योगदान दिने मध्येकी एक हुन् । अधिकारीले नेविसंघको तीन कार्यकालमा केन्द्रीय समिति सदस्य रहेर योगदान दिएकी छिन्। दुई दशकअघि देखि विद्यार्थी राजनीतिमा सक्रिय हुँदै पार्टीको राजनीतिमा प्रवेश गरेकी उनी कांग्रेसको सक्षम नेतृ हुन् ।

नेताहरु गुरूराज घिमिरे, केशब सिंह, महेन्द्र शर्माले नेविसंघको नेतृत्व सम्हाल्दा उनले नेविसंघको केन्द्रीय सदस्य भएर योगदान दिएको थिइन ।नेविसंघमा काम गरिरहँदा खास गरी गरिब, मजदुरको हकहित र समानताको आवाजलाई नारा बनाउँदै गरिएका आन्दोलनमा उनलेउल्लेख्य योगदान दिएकी छिन्।

समाजमा ब्याप्त अन्याय, अत्याचार र हिंसात्मक घटनाहरुविरुद्ध आवाज मात्रै होइन कलम समेत चलाएर उनले अहम भुमिका निर्वाह गर्दै आएकी छन् । अधिकारीले दुईदशक यतादेखि नै देशका प्रमुख सञ्चारमाध्यमबाट समाजका विकृति, विसंगतीविरुद्ध टिप्पणी एवं लेख प्रकाशन गर्दै आएकी छन् ।

कांग्रेसका युवा एवं लोकप्रिय नेता गगन थापा र प्रदिप पौडेलसँगै कार्यसमितिमा रहेर नेविसंघका हरेक पाइलाहरुमा उनले योगदान दिएकी छन् । यस सँगसँगै अधिकारी गोरखा काठमाडौँ समाजकी उपाध्यक्ष समेत रहेकी थिइन् ।नेपाली समाजमा महिलाको अग्रगामी भुमिकाले अझै गति लिन नसकेको अवस्थामा नेतृ अधिकारीले विगत लामो समयदेखि नै महिला, मानव अधिकार एवं सर्वसाधरणको हकहितका लागि लड्न शुरु गरेकी थिइन्।

महिला भएर राजनीतिमा होमिन आजभन्दा २० वर्षअघि निकै दुःख र कष्टकर रहेको उनी बताउँछिन् । तर, पनि आफूले निकै दुःख, कष्ट र संघर्ष गरेर राजनीतिक यात्रालाई निरन्तरता दिएको उनको भनाइ छ । ‘हाम्रो पालामा महिलाहरुलाई राजनीतिमा आउन अहिले जस्तो सहज थिएन, त्यति मात्रै होएन म एक सर्वस्वहरण भएको परिवारको सदस्य पनि हो’, उनी भन्छिन् ।

लामो समयको द्धन्द्धकालमा राजनीतिक उतारचढावका घट्नाहरु वर्णन गर्न नसकिने अनुभवहरु रहेको उनको भनाइ छ । यतिसम्म की वर्षौँसम्म आफ्नो घरमै जान नसकिने अवस्था रहेको कुरा उनी बताउँछिन् । उनले भनिन् ‘त्यतिबेला त हामीले विस्थापित जीवन बिताएका थियौँ ।’

समृद्धिका लागि क्रान्तिसँगै शिक्षा अत्यावश्यक भएको बताउने उनले दुई संकायमा स्नातकोत्तर हासिल गरेकी छिन् भने शिक्षण क्षेत्रमा १२ वर्षको अनुभव बटुलेकी छन् । समाजलाई उकास्न महिलाहरुको अग्रसरता अत्यावश्यक रहेको बताउने उनी समानता र समृद्धिका लागि योग्य, सक्षम, क्षमतावान र पढेलेखेका महिलाहरू समेत पार्टी राजनीतिमा आउन जरुरी रहेको बताइन् ।

राजनीतिमा सक्रियता सँगसँगै उनले गाउँ समाजको हकहितका लागि समेत निरन्तर काम गर्दै आएकी छन् । गोरखामा जन्म भए पनि अध्ययनका शिलशिलामा उनले लमजुङमा केही वर्ष बिताएकी थिइन् । यसैले पनि लमजुङसँग निकै भावनात्मक सम्बन्ध रहेको उनी बताउँछिन् ।

संगठन विस्तार गर्ने क्रममा, विभिन्न विषयमा प्रशिक्षण दिनको लागि एवं जनताको हकहितका लागि लड्ने क्रममा उनी गण्डकीका विभिन्न जिल्लामा पुगेकी छिन् । यतिमात्रै हैन्, नेविसंघको केन्द्रीय समितिमा रहँदा विभिन्न जिल्लामा नेविसंघको जिल्ला अधिवेशन गराउन समेत उनी पुगेकी छिन् ।

कांग्रेसले पार्टीमा शिक्षित र अनुभवी युवालाई स्थान दिनुपर्ने उनको माग छ । जीवनको महत्वपूर्ण उत्पादनशिल समय देश, जनता र लोकतन्त्रको लागि खर्चेको बताउने उनी एक उर्जाशिल महिला नेतृ हुन् । सबै पक्षको सहयोग, माया, स्नेह र आग्रहका साथ गण्डकी प्रदेशको सदस्य पदमा उम्मेदवारी दिएको अधिकारीले बताइन् । विगतमा दिएका योगदान, अनुभव र दक्षतालाई आधार बनाउँदै सबै पक्षलाई आफ्नो जितका लागि हार्दिक अनुरोध गरेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ