arrow

पाल्पा कांग्रेसः वीरबहादुरलाई निर्णायक सहयोग गरेका अधिकारी उनकै अपेक्षामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
adhhikari-rana-palpa-congre.jpg
तस्बिर– बायाँ अधिकारी, दायाँ राना ।

पाल्पा । देशभर कांग्रेसको केन्द्रीय नेतृत्वप्रति असन्तुष्टि व्यक्त भइरहेका बेला पाल्पा नेपाली कांग्रेसले भने वर्तमान केन्द्रीय नेतृत्वलाई झापड हुनेगरी नेतृत्व चयन गरेको छ । पाल्पाका दुईवटा निर्वाचन क्षेत्रबाट निर्वाचित ५२ महाधिवेशन प्रतिनिधिमध्ये ३ जनामात्रै संस्थापन देउवा पक्षका छन् भने बाँकी इतर समूहका रहेका छन् । 

यसरी केन्द्रीय नेतृत्व परिवर्तन गराउने गरी जिल्लाको नतिजा आउनुमा मुख्य भूमिका जिल्ला सभापति तथा प्रदेश मन्त्री वीरबहादुर रानाको प्रष्टै देखिन्छ । उनको जुझारुपन, कमाण्डिङ स्वभाव र सक्रियताले नै पाल्पा कांग्रेसलाई संस्थापन इतरबाट बलियो बनाएको हो । उनी कांग्रेसको जिल्ला सभापति राजन पन्त भएको बेलामा कांग्रेसको जिल्लास्तरीय राजनीतिमा उदाएका हुन् । 

रानाको क्षमता र शैलीका कारण आफूहरुको राजनीति धरापमा पर्ने ठानेर त्यतिबेला रानालाई एक्ल्याएर पत्तासाफ पार्न जिल्ला सभापति पन्त लगायतको टिम लागेको थियो । तर मगर समुदायको बाहुल्यता रहेको पाल्पामा मगर समुदायबाटै आएको र क्षमता पनि भएका वीरबहादुर रानालाई एक्ल्याउन हुँदैन भन्ने निश्कर्ष निकालेर पन्त समूहकै कृष्णप्रसाद अधिकारीले एकाएक रानालाई साथ दिए ।
 
तत्कालीन जिल्ला सचिवसमेत रहेका अधिकारीको दवावपछि पन्तले पनि सहयोग गर्न वाध्य भए र राना चामत्कारिक तारिकाले कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भए । त्यसपछि पाल्पामा कांग्रेसको चहलपहल र संगठन नै बेग्लै भएको छ । त्यसको मुख्य श्रेय अधिकारीको त्यसबेलाको सुझबुझपूर्ण निणर्यलाई दिनुपर्ने यहीँका नेता कार्यकर्ता बताउँछन् ।

त्यतिबेला रानालाई सभापति बनाउन निर्णायक भूमिका खेलेका कृष्णप्रसाद अधिकारी नै अहिले सभापतिका आकांक्षी देखिएका छन् । अहिले अधिकारीले रानाको निर्णायक सहयोगको अपेक्षा गरेका छन् । 

नेता अधिकारीले रानाको टिमभन्दा बाहिर गएर आफूले कहिल्यै केही नगर्ने अठोट व्यक्त गर्दै राना समूहबाट जिल्ला सभापतिको उम्मेदवार बन्ने कोसिस गरेका छन् । 

राजनीतिमा आफूभन्दा जुनियर भए पनि सभापति भएपछि रानालाई दुवै कार्यकालमा अधिकारीले पूर्णरुपमा सहयोग गर्दै आए थिए । 
 
“अहिले पाल्पा कांग्रेसमा देखिएको चहलपहलको पछाडि कृष्ण अधिकारीको महत्वपूर्ण भूमिका छ,” एक नेताले भने, “वास्तवमा उहाँले त्यतिबेला यो लाइन अघि सार्दा उहाँलाई नै एक्लो बनाउने अवस्था आएको थियो । अघिल्लो महाधिवेशन प्रतिनिधिमा उहाँलाई नै हराउने योजना बनेको थियो । तर अहिले त्यही लाइन बलियो भयो । रानाकै नेतृत्वमा रहेको टिमले पाल्पा काँग्रेसमा सुधार ल्यायो ।”

अधिकारी २०६२–६३ को जनआन्दोलनमा पनि पाल्पाबाट पार्टीको निणर्यअनुसार सबैभन्दा पहिला गिरफ्तारी दिने नेता थिए । “यो काम पनि उहाँले पार्टीको निणर्यअनुसार गर्नुभएको थियो,” ती नेताले भने, “सादा जीवन उच्च विचारका धनी अधिकारीजस्तै नेताले पाल्पा कांग्रेसको अब नेतृत्व लिनुपर्छ ।”

कम्युनिष्टको गढ मानिएको पूर्वी पाल्पामा अधिकारी कांग्रेसका यस्ता सिपाही हुन्, जो निरन्तर कांग्रेस बचाउन झोला बोकेर गाउँ गाउँ डुलिरहे ।

सरकारी जागिर छाडेर ३५ वर्षअघि पञ्चायतविरुद्धको राजनीतिमा होमिएका अधिकारी काँग्रेसका हरेक आन्दोलन र गतिविधिमा अग्रमोर्चामा देखिने नेता हुन् ।
पाल्पा कांग्रेसमा जिल्ला सचिव र उपसभापति भएका अधिकारी सभापतिका स्वभाविक दावेदार मानिन्छन् । 

व्यक्तिगत योगदान, व्यक्तिगत छवि, वरिष्ठता, सक्रियतालगायतका हरेक हिसाबले अधिकारीलाई सभापति बनाउनु न्यायोजित र उपयुक्त हुने पाल्पा काँग्रेसका अधिकांश कार्यकर्ताहरुको भनाइ छ ।



नयाँ