arrow

कञ्चनपुर काँग्रेस : एनपी-दिवान टिमका सभापतिमा बहादुर सिंहको उम्मेदवारी

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
np-diwan.jpg

कञ्चनपुर । कञ्चनपुरमा नेपाली काँग्रेस नेता एनपी-दिवान टिमका सभापतिका उम्मेदवार बहादुर सिंह थापाको प्यानल घोषणा गरिएको छ । सदरमुकाम महेन्द्रनगरमा बिहीबार एक कार्यक्रमको आयोजना गरि पदाधिकारीको प्यानल घोषणा गरिएको हो ।  

एनपी-दिवानको प्यानलमा उपसभापतिमा हरिशचन्द्र राना र मीनबहादुर सिंह, सचिवमा भीमराज भट्ट र हेमराज ओझा छन्।  यस्तै सहसचिवमा नाफुसिंह साउद र हरिप्रसाद अधिकारीलाई उम्मेदवार बनाइएको छ। 

संविधानसभा सदस्यसमेत रहेका थापाको प्यानललाई काँग्रेस केन्द्रीय सदस्य एनपी साउद र संविधानसभा सदस्य दिवानसिंह विष्टको समर्थन छ। साउद र विष्ट वडा अधिवेशनदेखि नै कञ्चनपुरमा सहकार्य गर्दै आएका छन्। 

संविधानसभा सदस्य थापा काँग्रेस कञ्चनपुरका पूर्व सभापति पनि हुन्। उनले २०५७ देखि २०७२ सम्म काँग्रेस कञ्चनपुरको नेतृत्व गरिसकेका छन्। जिल्ला नेतृत्वमा आउनु अघि थापा २०४७ सालदेखि दुई कार्यकाल क्षेत्रीय सभापति थिए।

कञ्चनपुरमा अर्का केन्द्रीय सदस्य रमेश लेखकको समर्थनमा पूर्व जिल्ला सचिव पदम बोगटी सभापतिका उम्मेदवार छन्। लेखकले अघि सारेका उम्मेदवार बोगटी काँग्रेस कञ्चनपुरको १५ वर्षसम्म सचिव भइसकेका नेता हुन्। 

उनी १३ औँ महाधिवेशनमा लेखक समूहबाट प्रतिस्पर्धामा उत्रिएका हरिप्रसाद बोहरासँग सभापतिमा पराजित भएका थिए। 

जिल्ला सभापति बोहरा कञ्चनपुर-२ मा सम्पन्न प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि लेखकले साउद निकट बोगटीलाई आफ्नो समूहमा भित्र्याएका हुन्। 

लेखकको समूह कञ्चनपुर-२ मा ‘क्लिन स्वीप’ भएको थियो। बोगटी नेता लेखकको प्रभाव रहेको कञ्चनपुर-३ बाट महाधिवेशन प्रतिनिधिमा विजयी भएका थिए। 

राजनीतिमा निष्ठावान् नेताका रूपमा संविधानसभा सदस्य थापालाई नेता साउदले अघि सारेपछि लेखकले साउद निकट सादगी जीवन र निष्कलङ्क छवि भएका बोगटीलाई उम्मेदवार बनाएका हुन्। 

बोगटीअघि उनले जिल्ला सचिव दिवाकर पाण्डेय र महाधिवेशन प्रतिनिधि खगेश्वर बोहरामध्ये एक जनालाई उम्मेदवार बनाउन चाहेका थिए। तर, दुबै जना संविधानसभा सदस्य थापासँग निर्वाचन जित्न नसक्ने मनस्थिति बनाएपछि नेता लेखकले साउदकै ‘प्रिय पात्र’लाई अघि सारेका हुन्। 

नेता लेखकले सभापतिको उम्मेदवारका रूपमा अघि सारेसँगै नेता साउद र बोगटीबिच चार दशक लामो सम्बन्ध चिसिएको छ। २०४८ सालमा पार्टीको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को केन्द्रीय अध्यक्ष हुँदा साउदले बोगटीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। 

शिक्षा तथा खेलकुद राज्यमन्त्री हुँदा उनले बोगटीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को केन्द्रीय सदस्य बनाएका थिए। काँग्रेसको केन्द्रीय राजनीतिमा सभापति देउवाका विश्वास पात्र मानिने नेता द्वय साउद र लेखक कञ्चनपुरमा आपसमै प्रतिस्पर्धा गर्दै आएका छन्। 

१४ औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरमा अहिलेसम्म सम्पन्न भएका अधिवेशनमा पनि दुबै नेताहरू फरक-फरक समूह बनाएर आफूनिकट नेताहरूलाई चुनावी प्रतिस्पर्धामा उतारेका थिए। 

कञ्चनपुरमा संस्थापन इतर मानिने संविधानसभा सदस्य दिवान विष्टले वडा अधिवेशनदेखि नै नेता साउदलाई सघाउँदै आएका छन्। 

उम्मेदवारी घोषणा सभामा केन्द्रीय सदस्य साउदले कञ्चनपुरमा बलियो रहँदै आएको काँग्रेस पछिल्लो समय कमजोर बन्दै गएपछि आफूले थापालाई अघि सारेको बताए। ‘गुटका आधारमा नभई वार्ता, संवाद र छलफलबाट पार्टीलाई एकताबद्ध पार्न बहादुर सिंह थापाको खोजी भएको हो,’ उनले भने, ‘कञ्चनपुरमा काँग्रेसको झन्डा फहराउन बहादुर थापाको आवश्यकता देखियो।’

संविधानसभा सदस्य विष्टले १३ औँ महाधिवेशनपछि इतिहासमै कमजोर बन्न पुगेको पार्टीलाई सशक्त र सुदृढ बनाउन थापालाई सभापतिमा ‘कम ब्याक’ गराउनु परेको बताए।

उम्मेदवार थापाले कञ्चनपुरमा काँग्रेसलाई पुनर्स्थापना गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए। उनले पार्टीका सबै कार्यकर्ताको आग्रह नकार्न नसकेर आफू उम्मेदवार बनेको पनि जिकिर गरे। कञ्चनपुरमा काँग्रेसलाई एकताबद्ध र सुदृढ पार्न आफ्नो ‘कम ब्याक’ भएको थापाको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ