arrow

पार्टीभित्रको प्रतिस्पर्धालाई आम निर्वाचनमा प्रस्तुत गर्नुहुँदैन : डा महत

logo
रासस,
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
prakash-sharan-mahata1.gif

काठमाडौँ । नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा प्रस्तुत गर्न नहुने बताएका छन् । 

काठमाडौँ जिल्ला सभापति पदमा उपेन्द्र कार्की समूहको उम्मेदवारी घोषणा सभामा बिहीबार साँझ आयोजित कार्यक्रममा उनले पार्टीको आन्तरिक जीवनमा हुने प्रतिस्पर्धा सामान्य भएको भन्दै यसलाई आम निर्वाचनमा प्रस्तुत गर्न नहुने बताएका हुन् । 

सह महामन्त्री डा महतले आन्तरिक प्रतिस्पर्धामा असहिष्णुता हुन नहुने भन्दै एक अर्कालाई होच्याउने काम नगर्न सुझावसमेत दिए । “नेताले कमीकमजोरी गरे त्यो स्वीकार गर्ने संस्कृति बसाउनुपर्छ, जित्ने हार्ने दुवैले पार्टी, जनता र सिद्धान्त प्रमुख ठानेर काम गर्नुपर्छ, पार्टीमा व्यक्तिभन्दा विचार र संस्था महत्त्वपूर्ण हुन्छ”, उनले भने । 

पार्टीको १४औँ महाधिवेशनबाट पार्टी रूपान्तरण र बलियो बनाउन आवश्यक रहेको उनको भनाइ थियो । काँग्रेस काठमाडौँका सभापतिका उम्मेदवार कार्कीले काँग्रेसमा नयाँ ऊर्जा र सफलता थप्नका लागि आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए । 

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, किरण गिरी, ध्यानगोविन्द रञ्जित, सांसद भीमसेनदास प्रधानलगायतको उपस्थिति रहेको थियो । कार्की समूहबाट उपसभापतिमा धर्म अर्याल र रामलाल श्रेष्ठ, सचिवमा सागरदास रञ्जित, सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानले उम्मेदवारी दिने भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ