- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । नेपाली कांग्रेसको १४ औं अधिवेशनको कार्यतालिका अनुसार रुपन्देहीमा क्षेत्रीय अधिवेशन सकिएको छ । प्रतिनिधि सभामा ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्रीय अधिवेशनको परिणामले पार्टीको संस्थापन पक्ष बलियो देखिएको छ ।
क्षेत्रीय अधिवेशनको परिणाम हेर्दा रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमध्ये २ वटा क्षेत्रमा संस्थापन इतर समूहका सभापति निर्वाचित भएका छन् भने बाँकी ३ वटा क्षेत्रमा संस्थापन पक्षका सभापति विजयी भएका हुन् ।
क्षेत्र नं २ मा हरि लम्साल र ४ मा मुकेश यादव संस्थापन इतर समूहबाट निर्वाचित भएका छन् भने क्षेत्र नं १ मा हिराबहादुर खत्री, ३ मा सुशिल गुरुङ र ५ मा वसिउल्लाह मुसलमान संस्थापन समूहबाट निर्वाचित भएका हुन् ।
संस्थापन समूहमा पनि जिल्लामा नेताहरु बालकृष्ण खाँण र भरतकुमार शाहको अलग अलग समूह देखिएको छ । क्षेत्र नं १ र ३ मा बालकृष्ण खाँण तथा क्षेत्र नं ५ मा भरतकुमार शाह निकटका क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।
क्षेत्र नं १ र ३ मा प्यानल नै संस्थापन समूहले जितेको छ भने सर्वसम्मत भएको क्षेत्र नं ५ मा केन्द्रमा कोइराला निकटका नेता विष्णु पोखरेल मिलेका कारण केही महाधिवेशन प्रतिनिधि पोखरेलका पनि देखिएका छन् ।
त्यसैगरी क्षेत्र नं २ मा ९ जना महाधिवेशन प्रतिनिधि संस्थापन समूहका छन् भने क्षेत्र नं ४ मा भागबण्डामा सहमति गरिएको छ । क्षेत्रीय अधिवेशनको परिणामले रुपन्देहीमा संस्थापन पक्ष बलियो भए पनि सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका भरतकुमार शाहको भूमिका निर्णायक देखिएको छ ।
संस्थापन समूह बलियो देखिए पनि पछिल्लो समयमा नेता शाहको भूमिका फरक देखिएको हो । केन्द्रमा संस्थापन समूहमा रहे पनि शाह अधिवेशनको समयमा संस्थापन इतर समूहमा नजिक रहेको देखिएको हो ।
नेता शाहको जुन समूहमा समर्थन हुन्छ त्यही समुहले जिल्लामा जित निकाल्ने निश्चित जस्तै देखिएकाले गृहमन्त्रीसमेत रहेका नेता खाँणको नजरलाई ध्यानकेन्द्रित गरेको थियो।
यसैबीच जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा नेता खाँणले जिल्लामा सहमतिबाटै नेतृत्व छनौट गर्न भन्दै छलफलमा केन्द्रीत हुन आग्रह गरेका छन् । नेता खाँणले नेता शाह र संस्थापन इतर समूहका नेताहरुसँग छलफल अगाडि बढाएको स्रोतले बताएको छ ।
संस्थापन समूहबाट सभापति पदमा उम्मेदवारको चर्चामा रहेका जिल्ला सचिव रामकृष्ण खाँणले सहमतिका प्रयासहरु भइरहेकाले सहमतिमा नेताहरुले दिने जिम्मेवारी स्वीकार गर्ने जनाएका छन् ।
यता संस्थापन समूहबाट सभापति पदमा उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण र नेता युवराज गिरीको नाम चर्चामा भए पनि गिरी महाधिवेशनमै पराजित भएका छन् ।
त्यस्तै संस्थापन इतर समूहबाट जिल्ला सभापतिमा नेताहरु थानेश्वर घिमिरे, रामबहादुर कार्की, रामचन्द्र ढकाल र अष्टभुजा पाठकको नाम चर्चामा छ ।
जिल्ला सभापति पदमा उम्मेदवारको चर्चामा रहेका नेता रामबहादुर कार्की भने आफूहरु छलफलमै रहेकाले अझै नामबारे भन्न नमिल्ने जनाए । पूर्वसभापतिसमेत रहेका ढकाल महाधिवेशनमा पराजित भैसकेका छन् ।