- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाल्पा । नेपाली कांग्रेस पाल्पाको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन प्रक्रिया शुरु भएको छ । बिहान उम्मेदवारी दर्ता गर्ने र दिउँसो मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
पार्टी मातहतका जिल्ला भित्रका सवै अधिवेशनमा देउवा पक्षका निकै थोरै मात्रै उम्मेदवारहरु विजयी भएकाले उनीहरुको पक्षबाट प्यानल बन्न सकेको छैन । तर सभापतिमा भने कृष्णप्रसाद बस्यालले उम्मेदवारी दिने चर्चा छ ।
जिल्ला कार्यसमितिमा मतदान गर्न छानिएका अधिकांश क्षेत्रीय प्रतिनिधि काँग्रेसको संस्थापन इतर समूहका भएकाले जिल्ला कार्यसमितिमा पनि उनीहरुकै पक्षका अधिकांश उम्मेदवारले जित्ने देखिएको छ ।
संस्थापन इतरबाट जिल्ला सभापतिमा युवा नेता हिमालदत्त श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । जिल्ला सभापतिका अन्य आकांक्षीहरु कृष्णप्रसाद अधिकारी, यमलाल तिमिल्सीना, राजेन्द्रगोपाल श्रेष्ठलगायतले श्रेष्ठलाई नै सहयोग गर्ने घोषणा गरेका छन् ।
वर्तमान जिल्ला सभापति वीरबहादुर रानाको नेतृत्वको टोलीले सवैलाई मिलाएर टिम बनाएपछि सबैले जित्ने सुनिश्चित जस्तै भएको कांग्रेस महासमिति सदस्य तथा रामपुरका मेयर रमण थापाले जानकारी दिए ।
श्रेष्ठको समूहबाट पार्टीका वर्तमान जिल्ला सचिव झपेन्द्र गहिरे र पूर्व क्षेत्रीय सभापति ज्ञानबहादुर गाहा उपसभापतिको उम्मेदवार बन्न लागेका छन् । त्यसैगरी जिल्ला सचिवमा पूर्व क्षेत्रीय सभापति सन्तोषकुमार थापा मगर र सुनिता अधिकारीले उम्मेदवारी दिने भएका छन् । सहसचिवमा विष्णु थापा र भला विक्रम ठकुरीले उम्मेदवारी दिने तयारी गरेका छन् ।
कांग्रेसको विधानमा उपसभापति, सचिव र सहसचिव दुई दुई जना रहने व्यवस्था छ भने कोषाध्यक्ष पछि मनोनित गर्ने व्यवस्था गरिएको छ ।