arrow

कांग्रेस सर्लाहीमा फेरि विवाद, आज पनि वडा अधिवेशन नहुने, क्रियाशील सदस्यताबारे विवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
congress-14th-general-convention1117.jpg

सर्लाही । नेपाली कांग्रेस सर्लाहीमा फेरि विवाद उत्पन्न भएको छ । संस्थापन पक्ष निकट पार्टी सभापति नागेन्द्रकुमार राय र संस्थापन इतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीच क्रियाशील सदस्यताको विषयलाई लिएर पुनः विवाद सिर्जना भएको हो ।

केन्द्रीय निर्वाचन समितिले ४ दिनसम्म दुवै समूहका नेताहरुलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलमा राखेर विवाद समाधान गरी जिल्ला पठाएको थियो । सोही अनुसार तेस्रो पटक खटाइएका निर्वाचन अधिकृत भरत राउतले आज जिल्लाका २० वटा पालिकाका २०० वटै वडामा वडाअधिवेशन गराउने तयारी गरेका थिए । 

तर हिजो दिउँसोबाट दुई समूहबीच फेरि क्रियाशील सदस्यताको विवाद उत्पन्न भएपछि आज पनि वडा अधिवेशन नहुने निश्चित भएको हो । पूर्व जिल्ला सभापति लक्ष्मण रायले जिल्ला सभापतिले फर्जी क्रियाशील सदस्य थपेको पाइएकाले यही अवस्थामा अधिवेशन हुन नसक्ने बताए । 

केन्द्रीय नेता कृष्णप्रसाद सिटौला र रमेश लेखकको हस्ताक्षर बाहेकका क्रियाशील सदस्यहरु नथप्ने सहमति गरेर आए पनि अहिले बिना नम्वर र बिना हस्ताक्षरको क्रियाशील सदस्यहरु थप गरिएको उनले आरोप लगाएका छन् । यस्तै गोलप्रथाबाट शिक्षकहरुलाई मतदान अधिकृत खटाउने निर्णय गरेर आए पनि जिल्ला सभापतिले आफ्नो हिसाबले मतदान अधिकृतहरुको सूची तयार पारेको उनले बताएका छन् । 

यता, जिल्ला सभापति नागेन्द्रकुमार रायले भने सबै सहमति भइसकेको अवस्थामा फेरि बखेडा झिकेर सर्लाहीमा अधिवेशन गराउन नदिने षडयन्त्र गरिएको बताएका छन् । उनले कहाँ  के कति क्रियाशील सदस्य थपिए भन्ने बारेमा आफूलाई जानकारी नरहेको बताए । 

सर्लाहीमा यसरी दुई पक्षको टकराबले कांग्रेसको अधिवेशन अन्यौलमय बनेको छ । यसअघि खटाइएका निर्वाचन अधिकृत विनोद कार्की र दीवाकर राज पाण्डे दुई पक्षबीचको विवादले गर्दा अधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिएर गएका थिए । 

दोस्रो पटक खटाइएका निर्वाचन अधिकृत पाण्डेमाथि कांग्रेसको एक समूहले वडा अधिवेशन घोषणा गरिएको दिन मंसिर २ गते सदरमुकाम मलंगवामा छलफल चलिरहेका बेला हातपात नै गरेको थियो । 

त्यसपछि केन्द्रीय निर्वाचन समितिले दुवै समूहका नेताहरुलाई काठमाण्डौं बोलाएर सहमति गराई गएको मंगलबार मात्रै जिल्ला पठाइएको भए पनि फेरि यहाँ आएपछि हिजोबाट विवाद शुरु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ