arrow

कास्की कांग्रेसको सभापतिमा बराल र भट्टराईबीच पुनः प्रतिस्पर्धा हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ११ शनिबार
Sudip & Kishor.jpg

पोखरा । नेपाली काँग्रेस कास्कीको सभापति पदका लागि किशोरदत्त बराल र सुदीपमोहन भट्टराईबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । 

पार्टीको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि सबैभन्दा बढी मत प्राप्त गरेका बराल र भट्टराईबीच पुनः प्रतिस्पर्धा हुने भएको हो । 

पार्टीको विधान अनुसार सभापति बन्नका लागि ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ ।

पुनः मतदान पोखरा प्रदर्शनी केन्द्रमै हुने बताइएको छ । शनिबार बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

शुक्रबार हुने मतदानमा कुल खसेको मतमा जसले धेरै प्राप्त गर्छन् उनै उम्मेदवार पार्टीको सभापति चुनिनेछन् । 

पार्टी सभापति पदका लागि बराल, भट्टराईसहित आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतमले उम्मेदवारी दिएका थिए ।

शुक्रबार मतदान हुँदा दुई हजार २५ मत खसेकोमा बरालले ६४४ र भट्टराईले ४७२ मत प्राप्त गरे । 

यसैगरी गुरुङले ४६२, शर्माले ३३५ र गौतमले ६३ मत प्राप्त गरे । योसंगै गुरुङ, शर्मा र गौतम सभापति पदको प्रतिस्पर्धाबाट बाहिरिएका छन् । भट्टराई र गुरुङ बीच कडा प्रतिस्पर्धा भए पनि १० मतको अन्तर रह्यो । 

यस्तो छ दुवै उम्मेदवारको विश्लेषण

‘पहिलो दिनको मतदानमा बराल अगाडि देखिए । पुनः मतदानमा के हुन्छ भन्न सकिन्न’, कास्की कांँग्रेसका एक पाका नेता भन्छन् ।

उनी भन्छन्, ‘दुवै नेता राम्रा छन्, जोशले भरिएका छन् । पार्टीका लागि दुवै आवश्यक छन् । तर चुुनावी माहोलले को कता पुग्छ पत्तै हुँदैन ।’

यी नेताले भने जस्तै नेताद्धय बराल र भट्टराईले पार्टीका लागि महत्वपूर्ण योगदान दिएका छन् । बरालले पार्टी राजनीतिसंगै लामो शिक्षण पेशा अंगाले भने पार्टी निकटकै शिक्षक संघको जिम्मेवारी सम्हाले । 

यस्तै, भट्टराईले राजनीतिलाई नै निरन्तरता दिए । भट्टराई निवर्तमान पार्टी सचिव हुन् । ती नेताका अनुसार पार्टीका लागि दुवै नेताले फरक फरक ढंगबाट बराबरी योगदान दिएका छन् ।

उनी भन्छन्, ‘क्षमताको हिसावले पनि दुवै वौद्धिक नेतामा पर्दछन् । दुवैले पार्टीलाई एउटा उचाइमा पुर्याउन सक्छन् ।’

अन्य पदका उम्मेदवार को-को हुन् ?

यता, पार्टीको उपसभापतिमा १० जनाको उम्मेद्वारी परेको छ । जसमा कृष्णप्रसाद ढुंगाना, नाराण कुमार श्रेष्ठ, पिताम्बर पौडेल, प्रज्वल रञ्जित, विजयराज भण्डारी, युवराज कुँवर, रामबहादुर भण्डारी, रंगिला आचार्य, लेखबहादुर गुरुङ र हरिप्रसाद शर्मा लामिछानेले उम्मेद्वारी दिएका छन् ।

यस्तै, सचिवमा अमृत कुमार श्रेष्ठ, कृष्णप्रसाद तिमिल्सिना, देवेन्द्र भाट, भरतप्रसाद तिवारी, भानुभक्त ढकाल, महेन्द्र पुन, राजबहादुर गुरुङ, विष्णुप्रसाद पौडेल र सिरोज कोइरालाले उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । 

यसैगरी सहसचिवमा कृष्णमान ठुसाजु, गणेशबहादुर थापा खत्री, जयप्रकाश थापा, देवराज गुरुङ, नवीन सिग्देल, भीम गौतम, लक्ष्मण पहारी, विकास थापा र शंकर ढुंगानाको उम्मेदवारी छ ।

सभापतिको टुंगो लागिसकेपछि मात्रै अन्य पदाधिकारी र सदस्यहरुको मतगणना हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ