- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
स्याङ्जा । नेपाली कांग्रेस स्याङजा जिल्ला सभापतिमा राजु थापा बिजयी भएका छन् । शनिवार बिहान सम्पन्न मतपरिणाम अनुसार थापाले ३२ मत अन्तरले प्रतिस्पर्धी भागवत प्रकाश मल्ललाई पराजित गरेका हुन् ।
थापाले १११७ मत पाउँदा मल्लले १०८५ मत पाए । जिल्लामा रहेका २२५७ मत मध्ये २२१८ मत खसेको थियो । थापा संविधान सभा सदस्य हुन् भने मल्ल हाल गण्डकी प्रदेश सचेतक हुन् ।
थापाले २०७० सालको संविधान सभा निर्वाचनमा बिजयी हुँदै करिब २० बर्षदेखि कम्युनिष्ट पार्टीको एकछत्र राजलाई तोड्न सफल भएका थिए । स्पष्ट केन्द्रको धार नदेखिएको स्याङ्जामा वडा तहदेखि नै पूर्वमन्त्री एवं केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ समूह र थापा समूहको प्रतिस्पर्धामा थियो । थापा केन्द्रमा देउवा निकट मानिन्छन् ।
मल्ल भने कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ निकट भनेर चिनिन्छन् । वडा तहदेखि जिल्ला तहसम्मको राजनीतिमा थापा समूहले वर्चस्व कायम राख्दा जिल्ला कार्यसमितिमा पनि स्थान बलियो बनाएको छ । यद्यपी कार्यसमितिमा भने मिश्रित परिणाम आएको छ ।
उपसभापतिमा केदार काफ्ले, शेरबहादुर थापा सचिवमा गुरु भट्टराई र दामोदर लम्साल, सह सचिवमा ध्रुवबन्धु पौडेल र पृथ्वी पोखरेल निर्वाचित भए । काफ्ले, भट्टराई र पौडेल थापा प्यानलबाट चुनाव लडेका हुन् भने थापा, लम्साल र पोखरेल मल्ल प्यानलबाट चुनावी मैदानमा थिए ।