- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा जिल्ला नेतृत्व चयनदेखि केन्द्रीय नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन धमाधम भइरहेको छ । संघीय संरचना अनुसारको नयाँ विधान अनुसार कांग्रेसले तल्लो तहदेखि केन्द्रसम्म समावेशी सिद्धान्तलाई प्राथमिकतामा राखेर प्रतिनिधि र विभिन्न तहको कार्यसमिति चयन गरिरहेको छ ।
रुपान्तरित र सुदृढ कांग्रेस निर्माणको ध्येयसहित कांग्रेसमा देशभरका युवाहरुले उल्लेख्य प्रतिनिधित्व जनाइरहेका छन् । वडा, पालिका, प्रदेश सभा, क्षेत्र र जिल्लासम्म युवा तथा महिलाहरुको उल्लेख्य सहभागिता जनाइरहेका छन् । प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि युवाहरुले उल्लेख्य स्थान पाएका छन् । यसमध्ये विभिन्न भातृ संगठनमा रहेर काम गरेका केही उर्जाशील महिला प्रतिनिधिहरुले अबको कांग्रेस र महिलाहरुको सहभागिताका बारेमा आफ्नो विचार व्यक्त गरेका छन् ।
महिलाहरुलाई आरक्षणमै सिमित नगरौंः बिनिता खड्का (रामेछाप)
रामेछापबाट महाधिवेशन प्रतिनिधिका रुपमा चयन भएकी विनिता खड्काले कांग्रेसमा युवा नेतृत्व आवश्यक रहेको बताउँछिन् । उद्यमशील महिला र समान सहभागिता, दिगो विकास र आत्मनिर्भरता राजनीतिको मूल उद्देश्य हुनुपर्ने उनको बुझाइ छ । नेपाली कांग्रेस मुलुकलाई परिवर्तन गर्न सक्ने एक शक्तिशाली पार्टी भएकाले पार्टी नेतृत्वमा अब युवा पुस्तामा हस्तान्तरण गर्दै जानु उचित हुने उनको धारणा छ । उनी भन्छिन्,‘पार्टीलाई चलायमान बनाउन भातृ संगठनहरुको समयमै विधिसम्मत अधिवेशन गराएर जतिसक्दो युवाहरुलाई पार्टी महत्वपूर्ण जिम्मेवारी दिनुपर्छ ।’
महिला आरक्षण ठिक भए पनि खुल्ला प्रतिस्पर्धाबाट महिला नेतृत्व उत्पादन गर्न र सक्षम महिलाहरुलाई नेतृत्वमा ल्याउन कांग्रेसले सक्नुपर्ने उनको माग छ । ‘पार्टीको विधानमा आरक्षणको व्यवस्था ठिक हो । तर सक्षम र लामो समय पार्टीको भूमिकामा रहेका महिलाहरुलाई खुल्ला प्रतिस्पर्धाबाट पनि नेतृत्वमा ल्याउन सिंङ्गो पार्टीमा रहेका नेताहरुले हिम्मत गर्नुपर्छ । आरक्षणमा सिमित राखेर महिलाहरुलाई खुम्च्याउन खोज्नु न्यायसंगत हुँदैन । त्यस्तो सोच र विचार समावेशी र लोकतान्त्रिक हुन सक्दैन’ उनले भनिन ।
पार्टीमा उद्यमशील र आत्मनिर्भर युवा नेतृत्व आवश्यक छः अर्पणा खड्का (सिन्धुली)
सिन्धुली-१ बाट कलिलो उमेरमै महाधिवेशन प्रतिनिधिमा निर्वाचित अर्पणा खड्काले कांग्रेसलाई चुस्त र दुरुस्त बनाउने कामलाई नेतृत्वले प्राथमिकता राख्नुपर्ने धारणा राख्छिन् । बीपी कोइरालाले देखाएको मार्गदर्शनमा हिंडेर देश र जनताको हक हितमा नीजि स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने उनको सुझाव छ । देशको नेतृत्व तहमा महिलाहरुको उपस्थिति आवश्यक भएकाले सोही अनुसार बिकासको आधार तयार पार्नुपर्ने उनी बताउँछिन् ।
गुट र उपगुटका आधारमा सक्षम र योगदानका आधारमा कार्यकर्ताहरुले अवसर पाउनुपर्ने उनको बुझाइ छ । ‘कांग्रेसमा भविष्य छ तर युवाहरुले अवसर पाउनुपर्छ । किनकी यसपाली देशभर कांग्रेसप्रति युवाहरुको क्रेज र जागरण देखिएको छ । कांग्रेसको झोला मात्र बोकाएर हिंडाउने परिपाटीको अन्त्य हुनुपर्छ,’उनले भनिन,‘उद्यमशील र आत्मनिर्भर युवा नेतृत्व आजको आवश्यक्ता देखिएको छ ।’ कांग्रेसको विधानले महिलाहरुलाई उचित व्यवस्था गरेपनि आरक्षणमा सिमिति राख्ने प्रयास गर्नु, महिलाहरु कमजोर मानसिकतामा गुज्रनु र पार्टीभित्रका जिम्मेवार व्यक्तिहरुले महिलाहरुलाई नेतृत्वमा ल्याउन आनाकानी गर्दा कांग्रेस समावेशी र लोकतान्त्रिक बन्न नसक्ने भएकाले त्यसबारे पनि आगामी महाधिवेशनमा आवाज उठ्नुपर्ने उनको भनाइ छ ।
सक्षम युवाहरुलाई ‘एसम्यान’मा सिमित नराखियोसः कमला हमाल (बाँके)
खासमा नेपाली कांग्रेस भित्र मात्र होइन युवाहरुलाई नै अवसर नदिने परिपाटी यथावत रहेकाले यसमा सुधार आवश्यक रहेको हमालको बुझाइ छ । नेताहरुको ‘एसम्यान’ ल्याउने नाममा सक्षम र संगठनमा प्रशस्त योगदान गरेका कार्यकर्ताहरुले अवसर पाउन नसकेकाले नेताहरुले आफ्नो पुरानो मानसिकता त्याग्नुपर्ने उनले बताइन । पाका नेताहरु युवालाई नेतृत्व दिन तयार रहेको देखिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेकोमा उनलाई दुःख लागेको छ । कांग्रेस एक राम्रो पार्टी हो अझ राम्रो बनाउन सोच र मानसिकतामा भने परिवर्तन आउनुपर्छ । नेपालको सबै कुरा राजनीतिले नै चलाइरहेकाले पार्टीलाई चुनाव केन्द्रीत मात्र नभइ दिर्घकालिन रणनीतिका साथ अघि बढ्नुपर्ने उनको आग्रह छ ।
दुर्गम र विकट जिल्लाका नेताले पनि केन्द्रमा अवसर पाउनुपर्छः माला पालुङ्गा (ताप्लेजुङ)
विशेषत दुर्गम र विकट क्षेत्रका व्यक्तिहरुलाई राजनीतिक प्रतिनिधित्वका हिसाबले विभेदमा पारिने भएकाले आगामी दिनमा कांग्रेसले यसमा विशेष ध्यान दिनुपर्ने पालुङ्गाको सुझाव छ । सबै पार्टीभित्र महिला नेतृत्व कमजोर बनाइएकाले कोटा वा आरक्षण प्रणाली मार्फत नभइ खुल्ला रुपमा महिलाहरुलाई नेतृत्वमा ल्याउनुपर्ने उनको माग छ । महिला र पुरुष बराबर भन्ने नारा नारामा मात्र सिमित राख्नुभन्दा पनि कांग्रेसले यसलाई व्यवहारमा उतार्नुपर्ने उनको भनाइ छ ।
ठूला एजेन्डाहरु भन्दा पनि सामान्य र व्यवहारिक एजेन्डाहरु अघि बढाएर कांग्रेसले संगठनलाई बलियो बनाउँदै लानुपर्छ र जताततै पुरुषहरुको मात्र हाबी हुने परिपाटीको अन्त्य गरिनुपर्छ भन्ने पालुङ्गाको भनाइ छ । महिलाहरु सक्षम हुँदाहुँदै पनि नेतृत्वमा ल्याउन पार्टीले जुन किसिमको आनाकानी गरिरहेको छ यसलाई आगामी महाधिवेशनबाट चिर्नु आवश्यक छ ।