arrow

पाल्पा कांग्रेसमा हिमालदत्त श्रेष्ठ नेतृत्वको समूह विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ११ शनिबार
himaldatta-shartha.jpg

पाल्पा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पाल्पा जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ नेतृत्वको समूह विजयी भएको छ । लोकप्रिय युवा नेता श्रेष्ठ नेतृत्वको समूहले संस्थापन समूहका उम्मेदवारहरुलाई पराजित गरेको हो ।

पार्टी मातहतका जिल्ला भित्रका सबै अधिवेशनमा संस्थापन समूहका न्यून मात्रमा उम्मेदवारहरु विजयी भएका थिए । तर जिल्ला समितिमा संस्थापन पक्षका उम्मेदवारहरु विजयी हुन सकेनन् । संस्थापन पक्षले कृष्णप्रसाद बस्यालको नेतृत्वमा उम्मेदवारहरु चुनावी मैदानमा उतारेको थियो ।

बस्याललाई श्रेष्ठले दोब्बरभन्दा बढी मतान्तरले जित्नु जितेका हुन् । बस्यालले ३८१ मत ल्याउँदा श्रेष्ठले उनले भन्दा ५०९ मत बढी ८९० मत ल्याएर विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।

जिल्ला कार्यसमितिमा मतदान गर्न छानिएका अधिकांश क्षेत्रीय प्रतिनिधि कांग्रेसको संस्थापन इतर समूहका भएकाले जिल्ला कार्यसमितिमा पनि उनीहरुकै पक्षका सवै उम्मेदवारले जितेका हुन । श्रेष्ठको समूहलाई जिल्ला सभापतिका अन्य आकांक्षीहरु कृष्णप्रसाद अधिकारी, राजेन्द्रगोपाल श्रेष्ठलगायतले सघाएका थिए ।

श्रेष्ठको समूहबाट पार्टीका वर्तमान जिल्ला सचिव तथा पत्रकार महासंघका पूर्व ध्यक्ष झपेन्द्र गैरे र क्षेत्र नं.१ का पूर्वक्षेत्रीय सभापति ज्ञान बहादुर गाहा उपसभापतिमा निर्वाचित भएका छन् ।

त्यसैगरी जिल्ला सचिवमा क्षेत्र नं.१ कै निवर्तमान क्षेत्रीय सभापति सन्तोषकुमार थापा मगर र नेविसंघकी पूर्वजिल्ला अध्यक्ष तथा कांग्रेसकी महासमिति सदस्य सुनिता अधिकारीले जित हासिल गरेकी छन् ।

त्यसैगरी सहसचिवमा मगर विद्यार्थी नेता विष्णु थापा र हामिद मिया निर्वाचित भए । काँग्रेसको विधानमा उपसभापति, सचिव र सहसचिव दुई दुई जना रहने व्यवस्था छ भने कोषाध्यक्ष पछि मनोनित गर्ने व्यवस्था गरिएको छ ।
 



नयाँ