arrow

कांग्रेसलाई बलियो बनाउन सक्षम नेतृत्व आवश्यक: प्रकाशमान सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ११ शनिबार
prakashman-gagan5.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन् ।

कांग्रेस काठमाडौंका सभापति पदका उम्मेदवार कृष्ण (सबुझ)बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उनले पार्टीमा सक्षम नेतृत्व आवश्यक रहेको बताएका हुन् ।

‘पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन गर्नका लागि १४औं महाधिवेशनबाट यस्तो नेतृत्व आवश्यक छ’ उनले भने । नेता सिंहले १४औँ महाधिवेशनपछि पार्टी जनताको चाहनाअनुसार अगाडि बढ्ने उल्लेख गरे ।

वि. सं २०७२ मा निर्माण भएको संविधानको नेतृत्व गरेको कांग्रेसले तीन तहको निर्वाचनमा किन हार्यो यसबारे गम्भीर समीक्षा हुनुपर्ने नेता सिंहको भनाइ थियो ।

कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई विधिसम्मत ढङ्गले अगाडि बढाउनका लागि शीर्ष नेता अभिभावक बनेर बस्नुपर्ने उल्लेख गर्दै जनतालाई आश र भरोसा दिने नेतृत्व १४औं महाधिवेशनले दिनुपर्ने बताए । उनले मत हुने पार्टीमा मतभेद हुनु सामान्य भएको भन्दै विवेकपूर्ण ढङ्गले आफ्नो मतको प्रयोग गर्न सबैलाई आग्रहसमेत गरे ।

कांग्रेस काठमाडौंका सभापतिका उम्मेदवार कृष्ण सबुझ बानियाँले कांग्रेस सङ्गठनलाई थप सशक्त बनाउनका लागि आफूले दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिन लागेको बताए ।

बानियाँ समूहबाट उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा गोविन्द पुडासैनी र इन्द्रबहादुर थापा र सहसचिवमा रोमेल श्रेष्ठ र प्राडा अमिता प्रधानले उम्मेदवारी दिने घोषणा गरेका थिए । 



नयाँ