- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । दोश्रो चरणको मतदानबाट प्रत्यासी सुदीप मोहन भट्टराईलाई पराजित गर्दै बराल सभापति पदमा विजयी भएका हुन् ।
शनिबार सम्पन्न मतदानमा कूल १९ सय २६ मत खसेको थियो । जसमा बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गरे ।
शुक्रबार सम्पन्न मतदानमा सभापति पदमा प्रतिस्पर्धा गरेका पाँच जनामा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि शनिबार दोश्रो चरणको मतदान भएको हो ।
पहिलो चरणमा बराल, भट्टराईसहित आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतमले सभापति पदमा प्रतिस्पर्धा गरेका थिए ।
पहिलो चरणको चुनाबाट गुरुङ, शर्मा र गौतम बाहिरिए भने बराल र भट्टराईबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो ।
पहिलो चरणमा पराजित भएका सभापति पदका तीनै जना उम्मेदवारले दोश्रो चरणमा उम्मेदवार भट्टराईलाई सघाउने भन्दै विज्ञप्ति जारी गरेका थिए । उनीहरुले उम्मेदवार भट्टराईलाई मत दिन आफ्ना समर्थकलाई आग्रह पनि गरेका थिए ।
उम्मेदवारहरुका आग्रह समर्थक मतदाताले स्वीकार गरेका भए सभापतिमा भट्टराई भारी मतका साथ विजयी हुन सक्छे । तर समर्थकले दुवै उम्मेदवारलाई विवेक पुर्याएर मत दिए । जसले गर्दा बराले सभापतिमा विजयी भए ।
पहिलो चरणमा सभापतिका उम्मेदवार बरालले सबैभन्दा धेरै ६४४ र भट्टराईले ४७२ मत प्राप्त गरेका थिए । यसैगरी गुरुङले ४६२, शर्माले ३३५ र गौतमले ६३ मत प्राप्त गरेका थिए ।
कास्की कांग्रेसको पदाधिकारीहरुको पनि मतगणना जारी छ । सबै परिणाम आइतबार मध्यान्हसम्म आइसक्ने आँकलन गरिएको छ ।
राति २ बजेसम्ममा २०० मत गन्दा उपसभापतिमा युवराज कुँवर र रामबाबु भण्डारी, सचिवमा भानु ढकाल र कृष्णप्रसाद तिमिल्सिना, सहसचिवमा नवीन सिग्देल र शंकर ढुंगाना, विकास थापा अगाडि छन् ।
सभापति बराल र उनको लक्ष्य
सभापतिमा निर्वाचित बरालले पोखराको भद्रकाली बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुख भएर लामो समय काम गरेका थिए । उनले शिक्षक संघको नेतृत्वसमेत गरेका थिए । उनले नेपाल शिक्षक संघ संघीय समितिका उपाध्यक्ष भएर पनि काम गरेका थिए ।
साथै उनी अहिले पनि कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य हुन् । उनी पार्टीका वौद्धिक नेतामा पर्दछन् ।
सभापति बराल लेखक पनि हुन् । बरालले हालै कांग्रेस रुपान्तरणका सुत्रहरु नमक पुस्तक हालै सार्वजनिक गरेका थिए ।
२०३६ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय बराल पार्टीको नवौं र १०औं महाधिवेशनमा कास्की क्षेत्र नं. २ को सभापतिमा चुनाव लडेर झिनो मतले पराजित भएका थिए ।
यस्तै, २०५४ को आर्वा विजय गाविसको अध्यक्षमा पनि उनी झिनो मतले पराजित भएका थिए । पार्टीको १३औं महाधिवेशनमा भने उनी प्रतिनिधि भएका थिए ।
पार्टीलाई जगैदेखि बलियो बनाउन आफूले सभापतिमा उम्मेदवारी घोषणा गरेको बरालले बताएका छन् ।
कास्की कांग्रेसमा कुनै गुटको नेता नभई कांग्रेस नेताले सभापति जित्ने भन्दै उनले अब कुन नेतालाई कुनको समर्थन छ भनेर नभइ एजेण्डा र क्षेमता हेरेर कार्यकर्ताले नेता चुन्ने दाबी गरे ।
आफू कुनै गुटको पछाडि नलाग्ने र गुटरहित कांग्रेस निर्माणमा लाग्ने बरालले बताए ।
‘मैले गुटको पछि नलागेर पनि योग्यता र क्षमता प्रदर्शन गरेर जितिन्छ भन्ने मान्यता स्थापित गरेर देखाउने छु । मलाई विश्वास छ, यसपाली कास्कीमा गुटगत अनुहार हेरेर होइन, निष्ठा र योग्यता अनि क्षमता हेरेर नेतृत्व चयन हुनेछ,’ उनले भने ।
पोखरा एग्रो टुरिजम एकेडेमी एण्ड रिसर्च सेन्टर सञ्चालन गरिरहेका नेता बरालले कांग्रेसका नेता कार्यकर्ता सबै अब उद्यमसंग जोडिनुपर्नेमा जोड दिएका छन् ।