arrow

मजदूरको प्रतिनिधित्व गराउन कांग्रेस केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी – तेजेन्द्रजंग कार्की 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
tejendra-jung-karki-article-congress.jpg

तेजेन्द्रजंग कार्की नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय उपाध्यक्ष हुन् । हाल उनी काठमाडौं क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने उनको तयारी छ ।    

कार्कीको राजनीतिक जीवन नेपाल विद्याथी संघबाट शुरु भएको हो । उनी २०४८ सालमा बुटवलमा भएको नेपाल विद्याथीं संघको महाधिवेशन प्रतिनिधि थिए । त्यसपछि पछि उनी  पिपुल्स क्याम्पसमा नेविसंघको इकाइ समितिको सहसचिव भइ काम गरे । त्यसपछि कार्की श्रम क्षेत्रमा सक्रिय भए । २०५० सालमा उनी सार्वजनिक सेवा कर्मचारी संघको महासचिव भए । 
२०५९ सालमा विराटनगरमा भएको महाधिवेशनमा उनी ट्रेड युनियन कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए ।

२०६४ सालमा वीरगञ्ज महाधिवेशनमा उनी ट्रेड युनियन कांग्रेसको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भए । नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा उनी महासमिति सदस्य पनि भए ।

प्रस्तुत छ उनीसँग कांग्रेसको १४ औं महाधिवेशनको सेरोफेरोमा गरिएको कुराकानी– 
० तपाईले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ? 
– नेपाली कांग्रेसको समग्र सम्बन्ध मजदूरमैत्री बनाउन तथा मजदुरका मुद्दा स्थापित गराउन नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मजदूरको प्रतिनिधित्व हुनुपर्छ भन्ने मेरो मान्यता हो । यस मान्यताको खातिर संस्थागत रुपमै जसले मजदूरको मुद्दालाई स्थापित गर्न सक्छ, मजदूरको प्रतिनिधित्व गर्न सक्छ, त्यस व्यक्तिलाई नेता मानेर अगाडि बढ्ने हाम्रो तयारी हो । अहिले ट्रेड युनियन कांग्रेस अभिभावकविहीन जस्तो भएको छ । २००३ सालमा गिरिजाप्रसाद कोइरालाले ट्रेड युनियन कांग्रेसको स्थापना गराउनु भएको हो । त्यति लामो इतिहास बोकेको ट्रेड युनियन अहिले अभिभावकविहीन जस्तो अवस्थामा आउनु  दुःखद कुरा हो । २००३ सालमा राणा विरोधी आन्दोलनमा सहभागी हुन गिरिजाप्रसाद कोइरालाले नेपाल मजदूर संघ स्थापना गरी मजदूरहरुलाई संगठित गरी आन्दोलन शुरु गर्नु भएको थियो । मजदूर आन्दोलनबाट उहाँले राजनीतिलाई अघि बढाउनु भयो । म मजदूरले पनि प्रतिनिधित्व हुन पाउनुपर्छ भन्ने मान्यतामा छु । मजदूरको प्रतिनिधित्व गराउन कांग्रेस केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी हुनेछ । 

० तपाई संस्थागत निर्णय गरेरै केन्द्रीय सदस्यमा उठ्न लाग्नु भएको हो ?
– संस्थागत निर्णय गरेर अघि बढ्ने तयारी गरेका छौं ।

०  तपाईंको विचारमा नेपाली कांग्रेसको महाधिवेशनमा ट्रेड युनियन कांग्रेससँग आबद्ध महाधिवेशन प्रतिनिधिहरुको उपस्थिति कति संख्यामा होला ? 
–अहिले अन्तिम सूची त आएको छैन । तर करिब पाँच सय बढी महाधिवेशन प्रतिनिधिहरु ट्रेड युनियन कांग्रेसमा आबद्ध हुनुहुन्छ । देशभरबाट अहिले जे जति प्रतिनिधिहरु आउनु भएको छ यसको आँकडा एकदम राम्रो अवस्थामा छ । सबैतिर हाम्रो उपस्थिति देखिएको छ । यसलाई १४ औं महाधिवेशनमा ‘क्याच’ गर्न सकेनौं भने हामी पछि पर्नेछौं । र  हाम्रा मुद्दा पछि पर्नेछन् । त्यसैले राज्यको नीति र कानूनमा मजदूरको पहुँचलाई उपस्थिति गराउन अहिले हामी संस्थागत रुपमा उपस्थित हुनुपर्छ । सुशील कोइराला प्रधानमन्त्री हुँदा कांग्रेसको चितवन महाधिवेशनमा १० बुँदे सहमति गरेका थियौँ ।  नीति निर्माण तहमा मजूदरको पहुँच बढाउन, कांग्रेस  र मजदूरबीच अन्तर सम्बन्ध बढाउन मजदूरको उपस्थिति बढाउन, नीति निर्माण तहमा मजदूरलाई १० प्रतिशत हिस्सा दिने लगायतका विषयमा सम्झौता गरेका थियौं । त्यो सम्झौता कार्यान्वयन भएको छैन । त्यसैले पनि त्यहाँ हाम्रो भौतिक उपस्थिति हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । 

० भनेपछि १४औ महाधिवेशनमा तपाईहरुको भोट निर्णायक हुनेछ भन्ने तपाईको दावी हो ?  
– हाम्रो भोट निर्णायक हुन्छ । त्यसैले हामीले निर्णायक हुने गरी हाम्रा मुद्दा स्थापित गराउन प्रयत्न गर्नेछौं । हामीले समर्थन गरेको व्यक्तिले चुनाव जित्छ । ट्रेड युनियन संघसँग प्रेस युनियन, शिक्षक संघ, सार्वजनिक सेवा कर्मचारी संघ लगायत दर्जनौ संघ, संस्था आबद्ध छन् । 

० ट्रेड युनियनको अध्यक्षमा चुनाव लड्नुहुन्न ?
– हाम्रो अध्यक्ष पुस्कर आचार्य चुनाव लड्नु हुन्न । उहाँ स्वतः महाविधेशन प्रतिनिधि हुनुहुन्छ । विधानअनुसार उहाँले भोट दिन पाउनु हुन्छ ।  उम्मेदवार हुन पाउनु हुन्न । 

० ट्रेड युनियनबाट तपाई मात्रै चुनाब लड्ने कि अरु पनि लड्छन् ?
– अहिले मैले उम्मेदवारी घोषणा गरेको छु । अरु नामको विषयमा पनि छलफल होला । हाम्रो संगठनको महासचिब, उपमहाचिव पनि महाधिवेशन प्रतिनिधिमा आउनु भएको छ । उहाँ पनि लड्न सक्नुहुन्छ । तर मैले भन्न खोजेको कुरा के हो भने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा हाम्रो संस्थागत उपस्थिति हुनेछ  । 

० तपाई मजदूर त हो ? 
– शुद्ध मजदूर नै हुँ ।

० कहाँ आबद्ध हुनुहुन्छ ?
– म काठमाडौं उपत्यका खानेपानी लिमिटेडको महाकांल चौर शाखामा कार्यरत छ्ु । 

० तपाई टिमबाटै उठ्नुहुन्छ ?
– हो, टिमबाटै उठ्छु । मजदूरका मुद्दालाई संस्थागत गर्न तथा नेपाली कांग्रेसमा मजदूरको भौतिक रुपमा प्रतिनिधित्व गराउन १४ औं महाधिवेशनमा हाम्रो उपस्थिति हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ