arrow

को हुन् कांग्रेस सुदूरपश्चिम सभापतिमा उम्मेदवारी घोषणा गरेका ‘मनु’ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
naranarayan-shah.jpg

काठमाडौं । देशको आगामी मार्ग र लोकतन्त्रको सुदृढीकरणका लागि विशेष रूपमा हेरिएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेश सभापतिमा लोकप्रिय युवा नेता नरनारायण शाह 'मनु' चर्चामा रहेका छन् ।

सुदूरपश्चिम सभापतिका लागि लामो समयदेखि कांग्रेसमा जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मकै लागि उल्लेख्य योगदान दिँदै आएका युवा नेता नरनारायण शाहले उम्मेदवारी घोषणा गरेका छन् । 

खास गरी पार्टी, सङ्गठन र प्रदेश एवं जिल्लामा उनले दिएको योगदानलाई लिएर प्रतिनीदहरूले नेता नरनारायण शाहलाई सभापतिका लागि योग्य ठानेका छन् । शाह कांग्रेसका लागि योगदान दिने उनकै परिवारका तेस्रो पुस्ता समेत हुन् ।

नेता नरनारायण शाहका हजुरबुवा स्वर्गीय लोकेन्द्रबहादुर शाह सुदूरपश्चिम कांग्रेसका संस्थापक सभापति हुन् । कैलाली र कञ्चनपुर जिल्ला एउटै निर्वाचन क्षेत्र हुँदा विसं २०१५ मा नेता नरनारायण शाहका हजुरबुवा क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए ।

त्यतिबेला नै नेता नरनारायण शाहका हजुरबुवा नेपालको संसदीय चुनाव विसं २०१५ मा कैलाली र कञ्चनपुर (एउटै क्षेत्र) बाट सांसदमा निर्वाचित भएका थिए ।

नेता शाहका बुवा स्वर्गीय मोहनबहादुर शाह कैलाली कांग्रेसका जिल्ला सभापति एवं जिल्ला विकास समिति कैलालीका सभापति रहेका थिए ।

शाहले भारतको लखनउबाट स्नातकोत्तर हासिल गरेका छन् । स्नातकोत्तरपछि अमेरिकी भिसा पाएका नेता नरनारायण शाहले भिसा नै रद्द गरेर कांग्रेसमा लागेका हुन् ।

कांग्रेसलाई थप बलियो बनाउने र समाजसेवा गर्ने प्रणका साथ हजुरबुवा र बुवाको योगदानलाई सम्झिँदै नेता नरनारायण शाह राजनीतिमा होमिएका थिए ।

युवा उमेरमै तरुण दल हुँदै शाह विसं २०६७ को महाधिवेशनबाट कांग्रेस कैलाली जिल्ला सभापति बन्न पुगेका हुन् । नेता शाह तरुण दलको जिल्ला सभापतिपछि सोझै कांग्रेसको जिल्ला सभापतिमा उठेका थिए र पहिलो पटकमै विजयी भएका थिए ।

दोस्रो पटक विसं २०७२ मा नेता शाह फेरि जिल्ला सभापतिमा विजयी भएका थिए । लगातार दुई कार्यकालमा जिल्ला सभापति भइसकेका नेता नरनारायणका गुटरहित सङ्गठन बनाउन सफल भए ।

कैलालीमा थारु, जनजाति लगायत सबै वर्ग समेटेर उनले गुटरहित काँग्रेस बनाउन मात्रै हैन, पार्टीको सुदृढीकरण र पार्टीलाई थप बलियो बनाउन उनले अहम् भूमिका निर्वाह गरे ।

जोसँग सपना छ, जो सपना बोकेर सपना प्राप्तिका लागि लडिरहन्छ आफू उसैको पक्षमा रहने नेता शाह बताउँछन् । हरेक युवालाई स्वरोजगार बनाउन चाहने, काममा बढी ध्यान दिने र मिडियामा कम आउन रुचाउने नेता शाह युवाहरूमाझ झनै लोकप्रिय छन् ।

कोभिड १९ को महामारीको बेलासमेत नेता नरनारायण शाहले पार्टी एवं आफ्नो पक्षबाट महामारी नियन्त्रणका लागि उल्लेख्य काम गरेका थिए । त्यति बेला विभिन्न किसिमका अत्यावश्यक सामग्रीहरू स्यानिटाइजर, मास्कलगायतका मेडिकल सामग्री सँगसँगै खाद्यान्न वितरणलगायतका काम गरे ।

पार्टीको सङ्गठनात्मक विकास एवं विस्तार सँगसँगै समाज, वर्ग, क्षेत्र, जिल्ला एवं युवाको हकहितका लागि आवाज उठाउने मात्रै नभएर विशेष किसिमले काम गर्ने नेताका रूपमा परिचित शाहलाई सुदूरपश्चिम सभापतिका लागि हेरिएको हो ।

कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनमा ९ सय ५५ जना मतदाता सहभागी हुने छन्। तीमध्ये नेता नरनारायण शाहको गृह जिल्ला कैलालीबाट मात्रै ३ सय ११ जना प्रतिनिधि रहेका छन् । कैलालीका निर्वाचित प्रतिनिधिमध्ये झन्डै ९० प्रतिशत प्रतिनिधि नेता नरनारायण शाह पक्षमा रहेका छन् ।

मुलुककै लोकतान्त्रिक दिशा र समृद्धिको यात्रामा प्रत्यक्ष प्रभाव राख्ने भएकाले यति बेला कांग्रेसको नेतृत्व र नीति चयनको प्रक्रियामा गम्भीर प्रतिनिधिहरू गम्भीर हुनुपर्ने अवस्था छ ।

कांग्रेसकै नेतृत्वमा भएका उपलब्धिहरूलाई संस्थागत गर्न, पार्टीप्रतिको नागरिक भरोसालाई थप बलियो बनाउन, विकास र परिवर्तनको यात्रामा तीव्रता दिन सँगसँगै लोकतन्त्र, सङ्घीयता र संविधानवादलाई संस्थागत गर्ने कुराहरू अहिलेका विशेष प्राथमिक मुद्दा हुन् ।

यो सबैको सार्थकता लागि बलियो कांग्रेस र बलियो कांग्रेसका लागि सक्षम नेतृत्व आवश्यक रहेको छ । यी यावत विषयहरूलाई ध्यानमा राख्दै सुदूरपश्चिम कांग्रेसका लागि नेता शाह नै सक्षम नेतृत्वकर्ता भएको निर्वाचित प्रदेश प्रतिनिधिहरू बताउँछन् ।

अन्य जिल्ला सभापति एवं भ्रातृ सङ्गठनका प्रमुखहरूले समेत सुदूरपश्चिम सभापतिका लागि नेता शाहलाई नै समर्थन जनाएका छन् । यससँगै नेता शाह सुदूरपश्चिम कांग्रेस सभापतिमा विजय हुने लगभग निश्चित देखिएको छ ।

कांग्रेसलाई क्षेत्रीय र प्रदेश स्तरबाट थप मजबुत र सुदृढ बनाउनका लागि शैक्षिक योग्यता, राजनीतिक अनुभव, योगदान, दूरगामी भिजन र नेतृत्व गर्न सक्ने क्षमता भएका युवा नेताहरूको आवश्यकता देखिन्छ ।

यसैकारण पनि सुदूरपश्चिम कांग्रेसको सभापतिका लागि नेता नरनारायण शाह योग्य भएको भन्दै उनको जित सुनिश्चित भएको प्रदेश प्रतिनिधिहरूको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ