- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिंदै गर्दा संस्थापन पक्षलाई सभापतिको साझा उम्मेदवार छान्न दबाब बढेको छ। विगत एक वर्षदेखि नै सभापतिमा साझा उम्मेदवार बनाउने रटान रट्दै आइरहेका कांग्रेसको पुरानो संस्थापन पक्षलाई महाधिवेशनको मिति नजिकिंदै गर्दा दबाब बढेको हो ।
आइतबार मात्रै कांग्रेस वरिष्ठ नेतासमेत रहेका संस्थापन इतर पक्षका नेता रामचन्द्र पौडेलले आफूहरुको तर्फबाट साझा उम्मेदवार छान्ने प्रयास अझै जारी रहेको बताएका थिए । उनले सो विषयमा छलफल जारी रेहेको र एक दुई दिनमा नै केही न केही निणर्यमा पुग्ने दाबी गरेका थिए ।
‘हामी अझै पनि हाम्रो तर्फबाट साझा उम्मेदवार छान्ने कसरतमा छौं, छलफल जारी छ, एक दुई दिनमा नै टुंगाउने कोसिस गर्छौं’, आइतबार कांग्रेस रुपान्तरका १० सुत्र सार्वजनिक गर्दै पौडेलले भनेका थिए ।
कांग्रेस भित्रका हरेक गतिविधिमा निगरानी गर्दै युवा समूहका तर्फबाट खबरदारी गर्दै आइरहेका संस्थापन इतर पक्षका युवाहरुले भने साझा उम्मेदवार छान्ने प्रयासमा विराम नलगाउन नेतृत्वलाई निरन्तर दबाब दिदैं आएका छन् ।
सो समूहमा रहेका मध्येका एक युवा नेता बद्री पाण्डेले सोमबार आयोजित एक कार्यक्रममा पुरानो संस्थापनलाई एक उम्मेदवार छान्न दाबाब बढाइरहेको बताए । ‘हाम्रो दबाब अझै पनि जारी छ, हामी तपाईहरु मिल्नुस्, इतर पक्षबाट एक जना सभापतिको उम्मेदवार छान्नुस् भन्दै आइरहेका छौं, अहिले त झन् जिल्लामा नेतृत्व हात पार्नु भएका साथीहरुको पनि दबाब छ, क्षेत्रीय सभापतिहरुको पनि दबाब छ, हामी पनि थप दबाब बढाउँदै छौं,’ पाण्डेले भने।
उनले यदि पुरानो संस्थापन पक्षले सभापतिका लागि एक उम्मेदवार तय गर्न नसके आफूहरुको समूहमा रहेका १२ युवा भने नफुट्नेसमेत दाबी गरे ।
‘तपाईहरु चारबाट दुई हुनुस्, दुईबाट एक हुनुस् हामी अग्रह गर्छौं, तर तपाईहरु एक हुनु भएन भने पनि हामी १२ भाइ एक ठाउँ हुन्छौं,’ पाण्डेले अघि थपे ।
कांग्रेस १४औं महाधिवेशनमा इतर समूहबाट वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका लागि चर्चामा रहेका आकांक्षी हुन् । यस्तै नेतृ सुजाता कोइराला र युवा नेता कल्याण गुरुङको पनि सभापतिमा दाबी रहँदै आइरहेको छ ।
तर महाधिवेशनको मिति नजिंकिंदै जाँदा भने इतर पक्षबाट एक उम्मेदवार चुनिने सम्भावना टर्दै गइरहेको छ। कांग्रेस महाधिवेशन २४ देखि २६ मंसिरका लागि तय छ।
कांग्रेस भित्र चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, प्रदिप पौडेल, सरिता प्रसाई, रामकृष्ण यादव र किरण यादव इतर समूहबाट नेतृत्वलाई दबाब दिने युवा नेताहरुमा पर्छन् ।