arrow

सर्लाहीमा कांग्रेस अधिवेशनः हिजो हवाई फायर, आज झडप, निर्वाचन अधिकृतसहित पाँच घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
sarlahi-congress-convention.jpg

सर्लाही । सर्लाही जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन क्रममा आज पनि विवाद भएको छ । गोली चलेको एक दिन नबित्दै पुनः वडा अधिवेशनकै क्रममा भएको विवादले उग्र रूप लिएपछि झडप भएको हो । सो झडपमा परी मतदान अधिकृतसहित पाँच जना घाइते भएका छन् । 

सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँग झडप भएको थियो । सो झडपको क्रममा ५ जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए । 

वडा अधिवेशनकै क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि प्रहरी बचाउनका लागि प्रयास गर्ने क्रममा प्रहरीसँग झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । झडपमा परेर झासहित ३ जना प्रहरी र एक जना सर्वसाधारण घाइते भएको उनले बताए । 

निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ भने एक जना प्रहरी निरीक्षकको हात भाँचिएको उनले बताए । सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह पक्षधरले मतदान अधिकृतमाथि हातपात गर्नै लाग्दा प्रहरीले उनको सुरक्षाका लागि मलंगवा लैजाने क्रममा प्रहरीसँग झडप भएको काँग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले बताए । 

यसअघि सोही क्षेत्रमा आइतबार साँझ वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले हवाई फायर गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ