arrow

कमलबहादुर शाहद्धारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

logo
देवानन्द न्यौपाने, 
प्रकाशित २०७८ मंसिर १३ सोमबार
kamal-bahadur-shah-congress.jpg

लम्की । नेपाल तरुण दलका पूर्व उपाध्यक्ष युवा नेता कमलबहादुर शाहले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । आफ्नै गृह जिल्लाको आफ्नै निर्वाचन क्षेत्र कैलालीको लम्कीमा आज पत्रकार सम्मेलन गर्दै नेता शाहले केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गरेका हुन् । 

नीति र नेतृत्वमा हाम्रो प्रवेश, सशक्त कांग्रेस समृद्ध देश भन्ने मूल नाराका साथ आफूले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने शाहले बताएका छन् । आफू विद्यार्थी कालखण्डदेखि नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको विभिन्न विभागमा रहेर काम गरिसकेको र नवौं महाधिवेशनदेखि पार्टीको महाधिवेशन, महासमिति सदस्य भएर काम गरिरहेको बताउँदै कांग्रेसलाई सशक्त कांग्रेस बनाउन १४ औं महाधिवेशनमा आफूले केन्द्रीय सदस्यको उम्मेदवारी दिन लागेकाले सबैलाई सहयोग गर्नसमेत शाहले आग्रह गरेका छन् । 

देशलाई सही दिशामा डोहोर्याउन आगामी निर्वाचनमा कांग्रेसको नेतृत्व आवश्यक भएको र कांग्रेसलाई बलियो र जनमुखी बनाउन नेतृत्वमा युवाको उपस्थिति आवश्यक रहेको शाहले बताए । 

केन्द्रीय सदस्यमा विजयी भए कांग्रेसलाई जनमुखी संगठित, व्यवस्थित बनाउने अभियान अगाडि बढाउने बताउँदै नेता शाहले अहिलेको नेतृत्वमा  युवाको सहभागीता आवश्यक रहेको औँल्याए । 

कांग्रेस एक हुन, एकतावद्ध हुन आवश्यक भएको औल्याउँदै पार्टीलाई एकता, एकवद्ध, सशक्त बनाउन आफूले आवाज उठाउने उनले बताए । सत्तामा गएका र रहेका पाटीहरुलाई बारम्बार भ्रष्टाचार र आर्थिक अनियमितता गरेको आरोप सहितका समाचारहरु आउने गरेको बताउँदै उनले देश र पार्टीलाई भ्रष्टचारमुक्त बनाउन आफूले सशक्त आवाज उठाउने प्रतिवद्धतासमेत जनाए । 

शाहले २०४४ सालमा नेविसंघमा आवद्ध भएर देशमा बहुदलीय व्यवस्थाको लागि संघर्ष शुरु गरेका थिए । २०४६ सालदेखि २०५२ सालसम्म नेविसंघको क्याम्पस इकाइ समिति सदस्य, जिल्ला कार्यसमिति सदस्य र महाधिवेशन प्रतिनिधि भएर काम गरेका थिए । 

२०५४ सालदेखि २०६८ सालसम्म नेपाल तरुण दलको केन्द्रीय खेलकुद विभाग सदस्य, केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्षको पदमा रही विभिन्न जिम्मेवारी निर्वाह गरेका थिए । 

२०५३ सालदेखि हालसम्म पार्टीको नवौं, दशौं, ११ औं, १२ औं र १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको भूमिकामा रही विभिन्न जिम्मेवारी निर्वाह गरेका उनले संविधान सभाको दोस्रो निर्वाचन २०७० सालमा कैलाली क्षेत्र नम्बर २ बाट सभासदको प्रत्यक्षतर्फको उम्मेदवारसमेत रहेका थिए । 

उनी २०४६ साल र २०६२–०६३ को जनआन्दोलमा पटक पटक गरी ४ महिना जेलजीवन (राजनीतिक बन्दी) बिताएका थिए । २०५२ देखि २०६२ सालसम्म चलेको माओवादीको सशस्त्र द्धन्द्धकालमासमेत कांग्रेस कैलाली क्षेत्र नम्बर १ र २ लाई क्रियाशील र जीवन्त राख्न, संगठन बचाउन ज्यानकोसमेत पर्वाह नगरी लागेका उनी जनप्रिय नेताका रुपमा चिनिन्छन् । 

कोरोना संकटकालदेखि बाढी र डुबानको समयमा समेत जनताको चुलो ननिभोस् पनि राहत तथा उद्दारको लागि घरदैलो पुगेर जनताको सुखदुःखमा मलमपट्टी लगाउन खटिइरहने नेता शाह कैलाली क्षेत्र नम्बर २ का लोकप्रिय नेतासमेत हुन् ।



नयाँ