arrow

काँग्रेस नेता शर्माद्वारा गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
ShukraRaj-Sharma.jpg

पोखरा । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । शर्माले पार्टीको १४औँ महाधिवेशनमा गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले आज पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । आफूले पार्टीमा लिएको अडान र नीतिले पनि आफूले प्रदेश सभापति सहज रूपमा जित्ने विश्वास व्यक्त गरे ।

५५ वर्ष काँग्रेसको राजनीति गरेका शर्मा कास्की काँग्रेसका पूर्व सभापति पनि हुन् । उनले २०४६ देखि २०६३ सम्म १७ वर्ष पार्टी सभापति भएर महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।
 
त्यसअघि उनले २०३९ सालमा जिल्ला पार्टी सचिव भएर काम गरेका थिए । शर्मा पार्टीमा संगठकको रूपमा परिचित छन् । २०६३ पछि पनि शर्माले काँग्रेसमा अभिभावकीय भूमिका निर्वाह गर्दै आइरहेका छन् । उनले माओवादी द्धन्दलाई झेलेर पार्टी अघि बढाएको श्रेय पनि पाएका छन् ।

पार्टीमा धेरै नयाँ अनुहार देखिएको भन्दै नेता शर्माले उनीहरूलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सिकाउन आवश्यक रहेको बताए ।  

नेता शर्माले आफू सभापति बनेपछि अहिले पार्टीमा निर्वाचित भएका सबैलाई प्रशिक्षण दिएर पार्टीको नीति नियम र पद्धति सिकाउने स्पष्ट पारे । प्रशिक्षण प्रदेशका ११ वटै जिल्लामा सञ्चालन गरिने उनले बताए ।

साथै उनले आफ्नै कार्यकालमा पार्टीको प्रदेश समितिको आफ्नै भवन र कार्यालय स्थापना गर्ने सङ्कल्प पनि गरेका छन् ।

‘अहिले पहिला आफू बन्ने र पछि देश बनाउने काम भएको छ, यसले कसैको पनि हित गर्दैन’, उनले भने,  ‘पहिला देश बनाउनुपर्छ अनि मात्रै आफू बनिन्छ भन्ने सिद्धान्तमा म अडिएको छ । मेरो सिद्धान्त देश बनाउनुपर्छ, पार्टी बनाउनुपर्छ । त्यसपछि स्वतः आफू बनिन्छ ।’

गण्डकीमा पार्टीमा प्रदेश र महाधिवेशन गरी करिब एक हजार १०० प्रतिनिधि रहेकोमा करिब दुई तिहाइ मतका साथ सभापतिमा चुनिने उनले दावी गरे ।

उनले भने, ‘धेरै साथीहरूले तपाईँ सभापतिमा आउनुपर्छ, अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो । मैले पनि धेरै सोच विचार गरेर मात्रै उम्मेदवारी घोषणा गरेको हुँ ।’

उनले आफूले पार्टीमा गरेको त्याग र कामले आफू प्रदेशको सभापति बन्ने विश्वास व्यक्त गरे । आफू सभापति बनेपछि पार्टीमा कसैलाई कहीँ अन्याय हुन नदिने समेत नेता शर्माले स्पष्ट पारे ।

उनले सबै साथीहरूको चाहना र भावनालाई समेट्दै पार्टी सञ्चालन गर्ने बताए ।

पार्टी भित्र अग्रजको अनुभव र युवाको जोशलाई समेट्दै सशक्त, जिम्मेवार र अझै लोकप्रिय नेपाली काँग्रेस बनाउन आफू हरतवरले लाग्ने उनको अठोट छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ