arrow

कांग्रेस १४औं महाधिवेशन

१६७ नेता चुन्न २७ गते मतदान, एक दिन पछाडि धकेलियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
congress-14th-general-convention.jpg

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय नेतृत्व चुन्न मतदानका लागि तोकेको मिति फेरी एक दिन धकेलेको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिद्धारा जारी सूचना अनुसार २७ मंसिरमा केन्द्रीय सभापतिसहितका पदाधिकारी र सदस्य चुन्न मतदान हुने गरी नयाँ मिति तोकिएको हो।

यसअघि कांग्रेसको कार्यतालिकामा २६ गते मतदान हुने उल्लेख थियो। सोमबार सार्वजनिक कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशनमा सहभागी हुने मतदाताहरुको २४ मंसिरमा नामावली प्रकाशन हुनेछ।

यसैगरी उम्मेदवारको मनोनयन पत्र दर्ता २५ मंसिर १० देखि ५ बजेसम्म हुनेछ भने दाबी विरोध र जाँचबुझ २६ मंसिर बिहान ८ देखि १० बजेसम्म हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ।

यसैगरी उम्मेदवारको नाम निर्वाचन समितिले २६ मंसिर दिउसो १२ बजेदेखि ३ बजेसम्ममा प्रकाशित गर्ने छ भने सोही दिन ३ देखि ४ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्ने छन्।

यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन २६ मंसिरकै दिन साँझ ५ बजे हुनेछ भने मतदान २७ गते विहान ८ बजेबाट हुने निर्वाचन समितिले जनाएको छ।

यसअघि कांग्रेसले उद्घाटन अघि नै २१ मंसिरमा उम्मेदवारको मनोनयन दर्ताका लागि मिति तोकेको थियो।

सोमबार बिहान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशन कार्यतालिकाको विषयमा निर्वाचन समितिका पदाधिकारीहरुसँग छलफल गरेका थिए। त्यसपछि कार्यतालिकामा संसोधन गरिएको हो।



नयाँ