- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार अनामनगरस्थित यूनियन हाउसमा आयोजित पत्रकार भेटघाटमार्फत महरले १४औं महाधिवेशनका लागि आफ्ना १४ वटा एजेण्डा सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । महर डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन्।
उनले पार्टीभित्र एक व्यक्ति एक पद, दुई कार्यकालसहित आफ्ना १४ बुँदे एजेण्डा अघि सार्दै विद्यार्थी संगठनमा लिएको नेतृत्वको अनुभव र जोशलाई अब पार्टीमा लगाउने बताए ।
यसैगरी कांग्रेसलाई चलायमान शक्तिका रुपमा स्थापित गर्दै विचारको बहसमार्फत युवा पंक्तिमा पार्टी प्रतिको आकर्षण बढाउनु पर्ने, रुपान्तरका लागि युवा कांग्रेसको अवधारणा अघि बढाउनु पर्ने र त्यसका लागि आवश्यक परे छुट्टै संगठन नै संचालन गर्नु पर्ने उनको मत छ ।
यसैगरी सरकार र पार्टी संचालनका लागि थिंक ट्यांकको स्थापना गर्नुपर्नेतर्फ पनि उनले आफ्नो उम्मेदवारीको एजेण्डा बनाएका छन् ।
महरले अघि सारेका यी हुन् १४ एजेण्डा
१. एक व्यक्ति, एक पद, दुई पटक मात्र
२. प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशील सदस्यता
३. सरकार र पार्टी सञ्चालनका लागि थिंक ट्यांक स्थापना
४. युपी विचारको समयसापेक्ष कार्यान्वयन
५. व्यवहार र आचरणमा शुद्धता, आर्थिक पारदर्शिता
६. रुपान्तरणका लागि युवा कांग्रेस स्थापना
७. नेतृत्व आवधिक कार्ययोजना महाधिवेशनमै
८. लोकतन्त्रको संस्थागत विकास तथा असल नेतृत्व, कुशल व्यवस्थापन
९. योगदानमा आधारित जिम्मेवारी, मूल्यांकनका आधारमा सम्मान
१०. निःशुल्क स्वास्थ्य-शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार
११. लगानीमैत्री वातावरण, युवा उद्यमशीलता र स्वरोजगार अर्थतन्त्रमा सुधार
१२. विविधताको सम्मान, रीतिरिवाज र मौलिकताको पहिचान
१३. कानुनी राज्य, मानव अधिकार, सुशासन र समावेशिता
१४. राष्ट्रिय स्वार्थकेन्द्रित विदेश नीति