arrow

कांग्रेसको १४ औं महाधिवेशन

सहमहामन्त्रीको आठ पद, २७ आकांक्षी

logo
एम गौतम,
प्रकाशित २०७८ मंसिर १५ बुधबार
sahamahamantri-28-candidate.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा विधानअनुसार १ सय ६७ सदस्यीय केन्द्रीय समितिका लागि नेतृत्व चुन्न यही २७ मंसिरमा मतदान हुँदैछ । कांग्रेसले हालको विधान अनुसार पहिलो पटक नेतृत्व चयन गर्न लागेको हो। कांग्रेसको यो महाधिवेशनलाई संघीय संरचना अनुसारको नेतृत्व चयनका हिसाबबाट पनि महत्वपूर्ण रुपमा हेरिएको छ।

कांग्रेस विधानमा एक निर्वाचित सभापति, दुई जना निर्वाचित उपसभापति, सोही संख्यामा निर्वाचित महामन्त्री र संविधानले व्यवस्था गरेको क्लष्टर अनुसार आठ जना सहमहामन्त्री निर्वाचनमार्फत पदाधिकारीमा चयन हुनेछन् । कांग्रेस विधान अनुसार सभापति बन्न कम्तीमा १५ वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको र केन्द्रीय महाधिवेशन भएको हुनुपर्छ। यस्तै उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि १० वर्ष निरन्तर क्रियाशील सदस्य रहेको र महाधिवेशन प्रतिनिधि भएको हुनुपर्छ ।

कांग्रेस विधानमा भएको व्यवस्था अनुसार अब बन्ने केन्द्रीय समितिमा सहमहामन्त्री आठ जना हुने छन् । जसअनुसार महिला महाधिवेशन प्रतिनिधि मध्येबाट १, आदिवासी जनजाति महाधिवेशन प्रतिनिधि मध्येबाट १, दलितबाट १, मधेशीबाट १, खसआर्यबाट १, थारुबाट १, मुस्लिमबाट १ र पिछडिएको क्षेत्रबाट १ गरी कांग्रेस केन्द्रीय समितिमा आठ जना सहमहामन्त्रीको व्यवस्था विधानमा छ।

यी विभिन्न क्लष्टर अनुसार कांग्रेस सहमहामन्त्रीका लागि अहिलेसम्म २७ जनाले आकांक्षा देखाएका छन् । उनीहरु आआफ्ना गुट निकटका शीर्ष नेतामार्फत सहमहामन्त्रीमा उठ्ने गरी लविङमासमेत सक्रियतापूर्वक लागिपरेका छन् ।

हाम्राकुरालाई प्राप्त जानकारी अनुसार महिला सहमहामन्त्रीतर्फ कांग्रेसको संस्थापन समूहतर्फबाट चित्रलेखा यादव, पुष्पा भुषाल, ईश्वरी न्यौपाने, महालक्ष्मी उपाध्याय डीनाले आकांक्षा देखाएका छन् । संस्थापन इतर समूहबाट सरिता प्रसाई र कमला पन्तको इच्छा रहँदै आएको छ।

यसैगरी आदिवासी जनजातितर्फ एक पदका लागि संस्थापन समूहबाट सीता गुरुङ र भिष्मराज आङ्दाम्बे इच्छा देखाएका छन् भने इतर समूहबाट धनराज गुरुङ अघि बढेका छन् ।

यस्तै दलिततर्फ एक पदमा संस्थापन समूहबाट मीनबहादुर विश्वकर्मा र मानबहादुर विश्वकर्मा अघि सरेका छन् भने इतरबाट जीवन परियारको चर्चा छ।

यसैगरी मधेशीतर्फबाट एक पदका लागि चार जनाको चर्चा सुनिएको छ। जसमा संस्थापनबाट जीतेन्द्र देव अघि बढेको बताइन्छ भने इतरबाट रञ्जित कर्ण, अमरेशकुमार सिंह र रामकृष्ण यादवको चर्चा सुनिन थालेको छ।

यस्तै खस आर्यतर्फ एक सहमहामन्त्री पदका लागि संस्थापन समूहबाट रमेश रिजाल र मोहनबहादुर बस्नेतले लविङ थालेका छन् भने इतर समूहबाट दिलेन्द्रप्रसाद बडु र गुरुराज घिमिरेको चर्चा छ। बडु हाल सरकारमा कानुन मन्त्रीसमेत छन् । यस्तै घिमिरेको चर्चा प्रदेश १ को सभापतिका लागिसमेत छ। तर इतर पक्षको सबैभन्दा शक्तिशाली उम्मेदवारका रुपमा दीपक गिरी आउने सम्भावना बढी भएको स्रोतको दाबी रहेको छ । 

यसैगरी थारु क्लष्टरतर्फ एक सहमहामन्त्री पदका लागि संस्थापन समूहबाट योगेन्द्र चौधरी, इतरतर्फबाट उमाकान्त चौधरी र तेजुलाल चौधरीको चर्चा छ । उमाकान्त कृष्णप्रसाद सिटौला निकट हुन् । उनी हाल सरकारमा खानेपानी मन्त्रीसमेत छन् ।

यस्तै मुस्लिम कोटा तर्फबाट संस्थापन समूहबाट फरमुल्लाह मन्सुर अघि बढेका छन् भने संस्थापन समूहमा नै रहेका अतहर कमाल मुसलमानलाई इतर समूहले उम्मेदवार बनाउन चाहेको चर्चा छ।

यसैगरी पिछडिएको क्षेत्रबाट एक पदका लागि संस्थापन समूहबाट जीवनबहादुर शाही अघि बढेका छन् भने इतर समूहबाट बद्री पाण्डेले उम्मेदवारी घोषणा गरिसकेका छन्। शाही भने हाल कर्णाली प्रदेशको मुख्यमन्त्री छन्।



नयाँ