- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको प्रदेश तहको संरचना चयनका लागि भोलीबाट प्रदेश अधिवेशनको प्रक्रिया शुरु हुँदैछ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार सातै प्रदेशमा बिहीबार प्रदेश अधिवेशनका लागि मतदाता नामावली प्रकाशित हुँदैछ। यस्तै १७ गते उम्मेदवारको मनोनयन दर्ता हुने तालिका छ।
कांग्रेसको प्रदेश १ को सभापतिका लागि हालसम्म आठ जना मैदानमा उत्रने तयारीसहित खुलेका छन् । प्रदेश १ मा पनि अन्य प्रदेशमा जस्तै पार्टी भित्रको संस्थापन र इतर पक्षका बीचमा नै चुनावी प्रतिस्पर्धा हुने वातावरण बन्दै गइरहेको छ। यस्तै कांग्रेसको संस्थापन पक्ष र नेता कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको समूहको तालमेलको सम्भावना पनि सो प्रदेशमा बढेर गएको छ । प्रदेश १ को अधिवेशनका लागि कांग्रेसले सिटौलालाई नै प्रदेश १ को कमाण्डर तोकेको छ।
प्रदेश १ मा रामहरी खतिवडा, अमृत अर्याल र भीष्मराज आङ्दाम्बे संस्थापन समूहबाट सभापतिका दाबेदार मानिन्छन् । खतिवडा सकेसम्म सर्वसम्मत रुपमा सभापति बन्ने दाउमा छन् । आङ्दाम्बे पनि संस्थापन समूहमा प्रभाव राख्ने नेता हुन् । उनी कांग्रेसको अनुशासन विभागको प्रमुखसमेत हुन् भने पूर्व मन्त्री पनि हुन् ।
यसैगरी संस्थापन इतर समूहबाट प्रदेश १ को सभापतिका लागि गुरुराज घिमिरे र राजीव कोइरालाले तयारी गरिरहेका छन्। घिमिरे हाल कांग्रेस केन्द्रीय सदस्य हुन् भने कोइराला प्रदेश १ को कांग्रेस संसदीय दलका नेता हुन्। उनी यसअघि दुई कार्यकाल सुनसरीको जिल्ला सभापतिसमेत हुन् ।
यसैगरी सिटौला समूहबाट प्रदेश १ को सभापतिका लागि सुधिर शिवाकोटी, उद्धव थापा र तारामान गुरुङकोसमेत चर्चा छ। शिवाकोटी र थापा झापा जिल्लाका पूर्व सभापति हुन् । शिवाकोटी हाल कांग्रेस केन्द्रीय सदस्य समेत छन्। गुरुङ संखुवासभाबाट चार कार्यकाल जिल्ला सभापति बनेका थिए । उनी पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत हुन्। सिटौला समूहले सो प्रदेशमा संस्थापन समूहसँग मिन्ले सम्भावना पनि छ।
कांग्रेस उच्च स्रोतका अनुसार बागमती प्रदेश र प्रदेश १ मा सिटौला निकट नेतालाई प्रदेशको नेतृत्व दिएर अन्य प्रदेशमा संस्थापन पक्षले सभापति लिने गरी भित्री रुपमा संवादसमेत अघि बढिरहेको छ।
प्रदेश संरचनाको नेतृत्व चयनका लागि भने सातै प्रदेशमा १८ मंसिरमा मतदान हुने कार्यतालिका छ।