- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व लिन नेताहरुको दौडधुप चलेको छ । सभापतिका लागि नेताहरु आफ्नो समूहबाट आधिकारिक उम्मेदवार बन्न दौडधुपमा छन् । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन भोलिदेखि बुटवलमा शुरु हुँदैछ ।
मंसिर १७ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ । त्यसको भोलिपल्ट मंसिर १८ गते मतदान हुनेछ । अहिलेसम्म संस्थापन र संस्थापन इतर समूहले सभापतिको उम्मेदवार टुंग्याउन सकेका छैनन् । सभापति नै नटुंगिएका कारण अन्य पदाधिकारीका उम्मेदवार पनि तय भएका छैनन् । बाँके बाहेक ११ वटै जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । कांग्रेसले पहिलोपटक प्रदेश संरचनामा पार्टीलाई लैजाँदैछ ।
उम्मेदवारी मनोनयन गर्न दुई दिन बाँकी रहँदा संस्थापन र संस्थापन इतर समूहबाट तीन तीन जनाले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । रोल्पाका निवर्तमान पार्टी सभापति एवम् पूर्व राज्यमन्त्री अमरसिंह पुन, बर्दियाका निवर्तमान सभापति एवम् पूर्व मन्त्री सञ्जय गौतम र पूर्व केन्द्रीय सदस्य बर्दियाका महेन्द्र शर्माले संस्थापन इतर समूहबाट सभापति लड्ने तयारी गरे पनि पुन नै उम्मेदवार बन्ने लगभग टुंगिएको बताइएको छ ।
यस्तै संस्थापन समूहबाट नवलपरासीका पूर्व सभापति एवम् पूर्व राज्यमन्त्री देवेन्द्रराज कँडेल, रुपन्देहीका सांसद भरतकुमार शाह र दाङका पूर्व सांसद राजु खनालले दाबेदारी प्रस्तुत गरेका छन् । यीमध्ये शाह नै उम्मेदवार बन्ने करिब निश्चित भएको बताइएको छ । शाह संसदको सार्वजनिक लेखा समितिको सभापति हुन् ।
मंसिर १७ गते प्रदेशमा उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । संस्थापन इतरबाट उम्मेदवारी दिने बताएका नेता पुनले आफ्नो समूहबाट धेरै पहिले नै आफूले सर्वसम्मतरुपमा आफ्नो उम्मेदारी घोषणा गरेको र जित समेत सुनिश्चित रहेको बताए । लुम्बिनी प्रदेशमा निर्वाचित महाधिवेशन प्रतिनिधि मध्ये करिब ६५ प्रतिशत आफ्नो समूहका रहेको उनको दावी छ ।
पुनको प्यानलबाट महामन्त्रीका लागि ५ जनाको चर्चा
पुनको प्यानलबाट महामन्त्रीका लागि ५ जनाको चर्चा छ । नेता पुनले लुम्बनी प्रदेशका सांसद दाङका शंकर गिरी, पूर्व राज्यमन्त्री तथा कपिलवस्तुका पूर्व सभापति सुरेन्द्रराज आचार्य, संविधानसभा सदस्य नवलपरासीका विक्रम खनाल, अर्घाखाँचीका निवर्तमान सभापति विष्णु मुस्कान र गुल्मीका भुवनप्रसाद श्रेष्ठमध्ये दुई जना महामन्त्रीको उम्मेदवार बन्ने बताए । प्रदेशमा २ जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।
कांग्रेसका पुराना नेता गिरी महामन्त्रीको उम्मेदवार हुने प्रबल सम्भावना रहेको बताइन्छ । २०३६ सालमै दाङ कांग्रेसको सचिव रहिसकेका गिरी कांग्रेसभित्र बौद्धिक नेताका रुपमा चिनिन्छन् । २०६२–६३ को दोस्रो जनआन्दोलनमा पनि जिल्ला सचिव भएर काम गरिसकेका गिरी प्रभावकारी भाषणकला भएका अध्ययनशील स्वभावका छन् । गिरीले लुम्बिनी प्रदेशसभामा कांग्रेसका तर्फबाट प्रभावशाली उपस्थिति देखाइरहेका छन् ।
संस्थापन समूहबाट भने अहिलेसम्म महामन्त्रीको उम्मेदार फाइनल गरिएको छैन । प्रदेश पदाधिकारीमा २ जना उपसभापति, २ जना महामन्त्री र २ जना सहमहामन्त्री रहन्छन् । अरु कार्यसमिति सदस्य पनि निर्वाचित हुन्छन् ।