arrow

कांग्रेसको रसुवा अधिवेशन देशभरीकै नमूना भयो, कांग्रेस एकढिक्का बन्यो: पेम्बाछिरिङ तामाङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
pembachiring-tamang.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत रसुवा जिल्ला सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित पेम्बाछिरिङ तामाङले आगामी चुनावमा रसुवाका सबै स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराएरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।

रसुवा जिल्लामा देखिएको क्रियाशील सदस्यता विवादलाई सौहार्दपूर्ण रुपमा समाधान गर्दै एकताको अधिवेशन सम्पन्न गराएकाले आगामी चुनावमा सबै कांग्रेसका आकाक्षीहरुलाई व्यवस्थापन गराएर लैजाने पनि उनले प्रतिवद्धता जनाए ।

सर्वसम्मत जिल्ला सभापति बनेका उनले भने,‘पार्टी हाम्रै हो । सभापति पार्टीभित्रकै व्यक्ति हुने हो । यहाँ लेनदेनको कुरा पनि होइन तर सबै एक भएर अघि बढ्ने हो । त्यसैले सबै कांग्रेसलाई एक बनाएर रसुवाका सबै वडामा जिताउने मेरो लक्ष्य छ ।’

अघिल्लो कार्यकालमा प्रतिनिधि सभा सदस्य, दुई प्रदेश सभा सदस्य र दुई पालिकामा कांग्रेसका प्रतिनिधिलाई जिताएर पठाएको दाबी गर्दै उनले आगामी आम चुनावमा सबै स्थानीय, प्रदेश र प्रतिनिधि सभामा जिताएरै छाड्ने बताए ।

आफ्नो कार्यकालमा नयाँ शक्ति पार्टी रसुवालाई कांग्रेस रसुवामा समायोजन गर्न सकेको दाबी गरेका उनले रसुवाको अधिवेशनलाई नमूनाको रुपमा हेरिएको बताए । हाल जिल्ला नेतृत्वका लागि आकांक्षी रहेका नेताहरुलाई आफूले सही व्यवस्थापन गर्दै योगदान र क्षमताका आधारमा अवसर प्रदान गर्ने पनि विश्वास दिलाए । 



नयाँ