arrow
ADVERTISEMENT

संस्थापन इतरले बागमती सभापतिमा केसीलाई उम्मेदवार बनाउने, महामन्त्रीमा श्रेष्ठ र माइकल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
jagadish-narsingh-kc.jpg.jpeg
तस्वीर–फाइल ।

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले बागमती प्रदेशको सभापतिमा जगदीश नरसिंह केसीलाई उम्मेदवार बनाउने भएको छ । भोलिदेखि प्रदेश अधिवेशन हुँदै गर्दा कांग्रेसको संस्थापन इतर रामचन्द्र पौडेल पक्षले केसीलाई सभापतिको उम्मेदवार बनाउने निर्णय  गरेको हो । 

त्यस्तै दुई महामन्त्रीका लागि काभ्रेका कंचन बादे श्रेष्ठ र मकवानपुरका रामचन्द्र माइकललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आजमात्रै वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बसेको नेताहरुको बैठकले सातै प्रदेशमा साझा उम्मेदवार खडा गर्ने निर्णय गर्दै हरेक प्रदेशमा उम्मेदवार छान्नका लागि परामर्श टोली बनाएको थियो । 

बागमती प्रदेशको टुंगो लगाउने जिम्मा प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी र गगन थापा रहेको टोलीलाई दिएको थियो । 

उक्त टोलीको बुधबार राति सम्पन्न बैठकपछि केसीलाई सभापतिको उम्मेदवार बनाउने टुङ्गो गरेको हो । इतर पक्षबाट केसीसँगै काभ्रेपलाञ्चोकका मधु आचार्य र धादिङका रमेश धमला आकांक्षी रहेका थिए । 

संस्थापन पक्षबाट सभापतिमा मकवानपुरका (बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता) ईन्द्र बानियाँ र सिन्धुपाल्चोकका मोहनबहादुर बस्नेत आकांक्षी रहेका छन् । बानियाँले आजै उम्मेदवारी घोषणा गरेका छन् । बस्नेत भने मौन देखिएका छन् । त्यस्तै कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधान आकांक्षी रहेका छन् । प्रधानले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

परामर्श टोलीले बागमती प्रदेशका कार्यसमितिका अन्य पदाधिकारी र सदस्यको टुङ्गो पछि लगाउने जनाएको छ । उपसभापति र सहमहामन्त्रीसँगै कार्यसमिति सदस्यहरुको नाम बिहीबार टुङ्गो लगाइने भएको हो । 

सभापतिका उम्मेदवार केसीले नुवाकोट कांग्रेसको नेतृत्वमा चार कार्यकाल बिताइसकेका छन् । उनी नेता अर्जुननरसिंह केसीका भाइ हुन् । यस पटक भने उनी विधानको वाध्यताका कारण जिल्ला सभापतिको होडबाट बाहिरिएका छन् ।

उनीसँग नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा रहेर काम गरेको अनुभव छ। केसी २०४२ सालमा सरस्वती क्याम्पसको सचिवसमेत बनेका थिए। त्यसबखत उनी नेविसंघबाट जित्ने एक्ला उम्मेदवार थिए।

कांग्रेसको जिल्ला राजनीतिमा भने उनी सदस्य, सचिव र उपसभापति हुँदै अघि बढेका नेता हुन् । उनी २०६४ र २०७० मा संविधान सभाको सदस्यसमेत निर्वाचित भएका थिए ।

उनी पटक पटक गरी १८ वर्ष नुवाकोट जिल्ला सभापति भएका थिए । उनी शेरबहादुर देउवा विरोधीक्याम्प खडा गर्ने नेता भनी चिनिन्छन् । यही झ्वाँकमा महासमितिको बैठकमा केसीलाई देउवाले बोल्न नदिएको ब्यापक चर्चा थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ