arrow

सर्लाहीमा शुक्रबार एकैदिन कांग्रेस निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
congress-14th-general-convention22252.jpg

सर्लाही । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाहीमा प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन शुक्रबार एकैदिन गर्ने निर्णय भएको छ । बुधबार दिनभर लालबन्दीस्थित होटल युनाइटेड इन डुमडुमेमा बसेको कांग्रेस सर्लाहीको संस्थापन र इतर पक्षको वार्ताले सो निर्णय गरेको हो । 

बुधबार बिहानैदेखि साँझसम्म भएको वार्ताबाट क्षेत्र नं १ को ईश्वरपुर नगरपालिकास्थित बयलवास, क्षेत्र नं २ को मलंगवास्थित कृष्णामति मावि, क्षेत्र नं ३ को बरहथवास्थित पार्टी कार्यालय र क्षेत्र नं ४ को गोडैता नगरपालिकास्थित सरस्वती माध्यमिक विद्यालय रामवनमा प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन गर्ने निर्णय गरेको निर्वाचन अधिकृत भरत राउतले जानकारी दिए ।

यस्तै विवाद भएर स्थगित भएका र उजुरी परेका वडाहरुमा अधिवेशन गराउन निर्वाचन अधिकृत राउतकै संयोजकत्वमा संस्थापन पक्ष अर्थात् जिल्ला सभापति नागेन्द्रकुमार रायको तर्फबाट सुरेन्द्रकुमार न्यौपाने र संस्थापन इतर अर्थात् पूर्व जिल्ला सभापति लक्ष्मण रायको तर्फबाट कौशल किशोर राय सदस्य रहने गरी ३ सदस्यीय समन्वय समिति गठन गरिएको छ ।

सर्लाहीमा कांग्रेसको अधिवेशन गराउने क्रममा चरम विवाद देखा परिरहेको छ । वडा अधिवेशनकै क्रममा बलरा नगरपालिकामा २ पटक गोली नै चलिसकेको छ । 

त्यहाँका ४ वटा वडासहित मलंगवा, कविलासीसहित केही पालिकाका एक–दुई वटा वडाहरुमा अझै अधिवेशन नै हुन सकेको छैन ।

जिल्लामा अब गाउँपालिका तथा नगरपालिका र जिल्ला अधिवेशन भने समय अभावले गर्दा नहुने भएको छ । यस्तै, प्रदेश र क्षेत्रीय अधिवेशन शुक्रबार हुँदा पनि शुक्रबारकै दिन प्रदेश २ को अधिवेशन तय भएकाले प्रदेशको पदाधिकारीहरुका लागि सर्लाहीका नेताहरुले प्रतिस्पर्धा गर्न पाउने सम्भावना कम छ ।

क्षेत्रीय निर्वाचनबाट चुनिने महाधिवेशन प्रतिनिधीहरुले भने पर्सी यदि क्षेत्रीय अधिवेशन सम्पन्न भएको खण्डमा राष्ट्रिय महाधिवेशनमा भाग लिन पाउने छन् । बुधबारको वार्तामा जिल्ला सभापति नागेन्द्रकुमार रायको तर्फबाट नेताहरु जंगिलाल राय, शम्भुलाल श्रेष्ठ, उपेन्द्र कुशवाहा, सुरेन्द्र सिंह, सुरेन्द्र न्यौपाने र पुन्यप्रसाद घिमिरे सहभागी थिए ।

यसैगरी, पूर्व जिल्ला सभापति लक्ष्मण रायको तर्फबाट नेताहरु नवीन अधिकारी, कौशलकिशोर राय, बलिराम झा, विनोद खनाल, विनोद सिंह र रामवली राय वार्तामा सहभागी थिए । नेताहरुबीच मंगलबार पनि लालबन्दीमै राति अबेरसम्म नै वार्ता चलेपनि सहमति जुट्न सकेको थिएन ।

कांग्रेस नेताहरुको वार्तालाई मध्यनजर गर्दै वार्ता भएको होटल युनाइटेड इनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको कमाण्डमा बुधबार दिनभर नै ठूलो संख्यामा प्रहरी टोली तैनाथ गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ