- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापनमा हानथाप भइरहेको छ । संस्थापनइतर (रामचन्द्र पौडेल) समूहबाट भूपेन्द्रजंग शाही उम्मेदवार हुने भएका छन् । प्रदेश अधिवेशन आजबाट शुरु हुँदै गर्दा तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका शाही यसपटक प्रथम प्रदेश अधिवेशनबाट सभापतिमा भिड्न लागेका हुन् ।
शाहीले कांग्रेस रुपान्तरणका लागि ३० बुँदे प्रस्ताव पेस गरेका छन् । संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको कर्णालीमा प्रदेश सभापतिका आकांक्षी पनि बलिया नै देखिएका छन् ।
संस्थापन पक्षबाट तीन जना आकांक्षी छन् । जुम्लाबाट ललितजंग शाही, जाजरकोटबाट राजीव विक्रम शाह र कालिकोटबाट कालीबहादुर सहकारी सभापतिको उम्मेदवारका लागि लविङमा छन् । शाही र शाह तत्कालीन संविधानसभा सदस्य हुन् भने सहकारी कालिकोट जिल्ला पूर्वसभापति हुन् ।
तीन जनामध्ये टिम भित्रबाट निर्विरोध छनोटका लागि नेताहरुले छलफल जारी राखेका छन् । छलफलबाट कुनै टुंगो नलागेमा कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई सभापति उम्मेदवार बनाउने तयारी भएको स्रोतले जनाएको छ ।
मुख्यमन्त्री शाहीको सम्भावना प्रवल रहेको बताइए पनि सहकारी र शाहको पनि सम्भावना उत्तिकै बलियो रहेको छ । ललितजंग शाहीको भने सम्भावना कम रहेको स्रोत बताउँछ ।
कर्णालीका १० जिल्लामा ८ जिल्ला सभापति देउवा पक्षले जितेको छ । दुई जिल्ला सभापति पौडेल पक्षले जितेको छ । यो प्रदेशमा सिटौला पक्षको भने दरिलो उपस्थिति छैन ।