arrow

लुम्बिनी सभापतिमा शाह र पुनको कडा प्रतिष्पर्धा, संस्थापन सर्वसम्मत गराउने रणनीतिमा

logo
नारायण वली,
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
congress adhiveshan.jpg

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति नेतृत्व चयनका लागि बिहीबार रुपन्देहीको भैरहवामा प्रदेशको पहिलो अधिवेशन शुरु भएको छ । पार्टीभित्रका २ वटा पक्षले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका छन् । जारी पार्टीको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा वडा तहदेखि जिल्लासम्म संस्थापन र संस्थापन इतर पक्षले अधिकांश स्थानमा छुट्टाछुट्टै समूह बनाएर प्रतिस्पर्धा गरेका थिए ।

प्रदेश अधिवेशनमा पनि दुई पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट रुपन्देहीका संघीय सांसद एवं सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह र संस्थापन इतर पक्षबाट रोल्पाका नेता अमर पुनले उम्मेदवारी घोषणा गर्दै आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । नेता पुन वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रोल्पाका पूर्वजिल्ला सभापतिसमेत हुन् ।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरुमध्ये बाँके बाहेक ११ वटा जिल्लाको अधिवेशन सकिएका छन् । त्यसमध्ये रुपन्देही र बर्दिया बाहेक ८ वटा जिल्लाहरुमा संस्थापन इतरले जिल्ला सभापति हात परेको छ । रुपन्देही, पूर्वी रुकुम र बर्दियामा भने संस्थापन पक्षले जित्न सफल भएको छ । जिल्ला सभापतिको अधिवेशनको अंक गणितलाई हेर्ने हो भने ईतर पक्षका नेता पुनले प्रदेश सभापतिमा जित्ने पक्का देखिन्छ। इतरभित्र एक जिल्लामा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका नेता गगनकुमार थापा निकटका सभापतिले पनि जितेका छन् । 

झन्डै १ हजार ६ सय मतदाता रहेको लुम्बिनी प्रदेशमा आफूले भारी मतान्तरले जित हात पार्ने ईतर पक्षका नेता पुनको भनाइ छ । उनले वर्तमान नेतृत्वले पार्टी संचालनलाई उचित ढङ्गले चलाउन नसकेकाले पार्टीलाई वीपी कोइरालाको विचार, सिद्धान्त, विधि र पद्धतिअनुसार संचालन गर्नका लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पारे । नेता पुन पूर्वसंविधान सभा सदस्य एवं पूर्व राज्यमन्त्री हुन् ।

यता रुपन्देही क्षेत्र नं ५ बाट लगातार तीनपटक निर्वाचन जितेर सांसद बनेका भारतकुमार शाह प्रदेश सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । उनी संस्थापन पक्षका मानिन्छन् । नेता शाह भन्छन्, ‘इतर पक्षले जिल्ला अधिवेशनमा धेरै जिल्लामा सभापति पदमा जितेको भए पनि आफूले गुटगत राजनीति नगर्ने भन्दै पार्टीमा रहेको गुटगतलाई मिलाएर पार्टी संचालन लक्ष्य र क्षमता भएकाले प्रदेशमा आफ्नो जित सुनिश्चित जस्तै छ ।’ शाह संसदको लेखा समिति सभापति पनि हुन् ।

क्षेत्रीय अधिवेशनदेखि नै गृहजिल्ला रुपन्देही रहेका गृहमन्त्री बालकृष्ण खाँण प्रदेश अधिवेशनको संयोजक छन्  । संस्थापन पक्षले प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने रणनीति बनाएको स्रोतले बताएको छ ।

जिल्ला अधिवेशनलाई अंकगणितीय रुपमा हेर्दा पौडेल पक्ष बलियो भएकाले चुनावमा जाँदा संस्थापन पक्षले हार्ने संभावना अधिक भएकाले संस्थापन पक्ष, इतर पक्षसंग पदको भागवण्डा समायोजन गरेर शाहलाई नै सर्वसम्मत रुपमा सभापति बनाउने रणनीति तय भएको स्रोतले जनाएको छ । दुबै पक्षले अन्य पदाधिकारी सहित प्यानल घोषणा गरेका छैनन् । नेपाली कांग्रेस प्रदेश अधिवेशनका निर्वाचन प्रमुख डा. बुद्ध बहादुर थापाले बिहीबार साँझ सम्म मतदाता नामावली प्रकाशन हुने जानकारी दिएका छन् ।
 



नयाँ