arrow

कांग्रेस महाधिवेशनमा कुन क्षेत्रबाट कति महाधिवेशन प्रतिनिधि ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
congress-nepal-final202021.jpg

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व चुन्न आगामी २४ देखि २७ मंसिरसम्म काठमाडौंमा महाधिवेशन हुँदैछ । कांग्रेस महाधिवेशनमा केन्द्रीय नेतृत्वलाई मतदान गर्न देशभरबाट करिब ४६ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने बताइएको छ । 

कांग्रेसको विधानमा भएको व्यवस्था अनुसार एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाबाट जिल्ला अधिवेशन प्रतिनिधिले आफू मध्येबाट निर्वाचित गरेका केन्द्रीय महाधिवेशन प्रतिनिधि, जिल्ला सभापतिसहित २५ जना र अपांगता भएका एक जना गरी २६ जना महाधिवेशन प्रतिनिधि आउने छन् । 

यसैगरी दुई वा सो भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाबाट प्रत्येक क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन प्रतिनिधिले आफू मध्येबाट निर्वाचित गरेका केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिका सभापतिसहित २५ जना तथा अपांगता भएका एक जना गरी २६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

यी सबै गरी १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले ४ हजार २ सय ९० जना महाधिवेशन हुनेछन् । यसैगरी एक जिल्लाबाट एक जना थप गरी ७७ जिल्लाबाट ७७ जना अपांगता समूह तर्फबाट महाधिवेशन प्रतिनिधि केन्द्रीय नेतृत्व चयनका लागि भाग लिनेछन् । योसहित ४ हजार ३६७ जना हुनेछन् । 

यस्तै निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्य एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने व्यवस्थासमेत कांग्रेस विधानमा छ । यसरी हेर्दा हाल केन्द्रीय समितिमा रहेका स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । यो संख्या कांग्रेसको पुरानो विधान अनुसार अर्थात् हालको केन्द्रीय समितिमा ८५ छ । यो अंकसमेत जोड्दा महाधिवेशन प्रतिनिधि ४ हजार ४ सय ५२ हुनेछन् । 

यसैगरी विजयकुमार गच्छदारसँग एकता गर्दा उनलाई दिएको ११ जना महाधिवेशन प्रतिनिधि, राप्रपाको सुनील थापा पक्षलाई दिएको ७ जना तथा अन्य दलबाट आएका ७ जना गरी २५ जना पनि थप हुनेछन् । सो संख्यासहित ४ हजार ४ सय ७७ जना महाधिवेशन प्रतिनिधि हुनेछन् । 

यसैगरी विधानमा उल्लेख भए अनुसार तोकिए बमोजिमका भ्रातृ एवम् सुभेच्छुक संस्थाको अधिवेशनबाट निर्वाचित भइ आउने महाधिवेशन प्रतिनिधि पनि कांग्रेस महाधिवेशनको नेतृत्व चयनको प्रक्रियामा सहभागी हुनेछन् । तर यो संख्या कति भन्ने यकिन भएको छैन । 

यस्तै विदेशस्थित जनसम्पर्क समितिको अधिवेशनबाट निर्वाचन भइ आएका महाधिवेशन प्रतिनिधि पनि मतदान प्रक्रियामा नेतृत्व चयनका लागि सहभागी हुनेछन् । यो संख्या पनि यकिन हुन बाँकी छ । 

यसैगरी कांग्रेस विधानको धारा ५१ (१) बमोजिम क्रियाशील सदस्य मध्येबाट महाधिवेशनका लागि बढीमा ४० जना प्रतिनिधि मनोनित गर्न सक्नेछन् । यसरी मनोनित गर्दा महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारु, खसआर्य, अपांगता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्र, तेस्रो लिंगी, अन्य पेशा व्यवसायमा रहेका विशिष्ट व्यक्ति एवम् लोकतन्त्रको स्थापना र पुनःस्थापनाको आन्दोलनमा सहभागी भएका व्यक्ति मध्येबाट प्राथमिकतामा दिनुपर्ने कांग्रेस विधानको धारा ५१ (१) मा उल्लेख छ ।

महाधिवेशन प्रतिनिधि बन्न के छ व्यवस्था ?
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा ४ महिलासहित १४ जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट १० जना प्रतिनिधि समानुपातिक आधारमा प्रतिनिधि सभा क्षेत्रको जनसंख्याको बनोट अनुसार तोकिए बमोजिम निर्वाचित हुनेछन् ।
 



नयाँ