arrow

सबैभन्दा कान्छो कांग्रेस जिल्ला टीम बन्यो धनकुटा, चर्चामा सभापति राई 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
congress-dhankuta-dinesh-vi.jpg

धनकुटा । पुस्ता परिर्वतन र रुपान्तरणको अभियान संचालन भैरहेको कांग्रेसभित्र नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट नेपालकै सबैभन्दा कम उमेरका कान्छा सभापति धनकुटाका दिनेश राई बनेका छन् । नेपाली कांग्रेसको जिल्ला सभापतिमध्ये अहिलेसम्म ६१ जिल्लाका सभापति चयन भएकामा राई सबैभन्दा कान्छा सभापति बन्न सफल भएका हुन् । 

युवा पुस्ताले कांग्रेसको नेतृत्व लिनुपर्छ भनिएका बेलामा राईले धनकुटा सम्हाल्ने अवसर पाएसँगै देशैभर उनको चर्चा रहेको छ । उनी ४० वर्षको उमेरमै सभापति बन्न सफल भएका हुन् । 

विद्यार्थी जीवनदेखि राजनीति थालेका राई कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) स्कुल, क्षेत्र र क्याम्पस सभापति हुँदै तरुण दल धनकुटाका जिल्ला अध्यक्ष र पार्टी जिल्ला कोषाध्यक्षको जिम्मेवारी बहन गरिसकेका थिए । 

नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य कमोट फागुलाई ३४ मतको अन्तरले पराजित गर्दै राई ५०४ मतसहित धनकुटा जिल्ला सभापति बन्न सफल भएका हुन् । पुराना र पाका नेताहरुले पद नछाडिरहेको अवस्थामा प्रतिस्पर्धाबाटै साहसिक ढंगले उम्मेदवारी दिई निर्वाचित भएपछि कान्छा सभापतिको रुपमा चर्चामा आइ लोकप्रिय भएका हुन् ।

पुस्ता परिवर्तन र रुपान्तरणको कांग्रेसभित्र व्यापक बहस भइरहेको अहिलेको अवस्थामा धनकुटा जिल्लाका सभापति राई कान्छा सभापति बनेपछि कांग्रेसभित्र पुस्ता परिवर्तन र रुपान्तरण शुरु भएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताए । 

कांग्रेस धनकुटाको १४ औं जिल्ला अधिवेशनबाट ४५ भन्दा कम उमेरका उपसभापतिद्धयमा सुनिल डंगोल, निर्मल ओझा, सचिवद्धयमा विजय सन्तोषी राई, जयन्द्र घिसिङ्ग, सहसचिवद्धयमा गिरिजाप्रसाद दाहाल, रोशन श्रेष्ठ निर्वाचित भएपछि धनकुटा जिल्लाको कांग्रेसमा पुस्ता परिवर्तन भएको छ । 

यसैगरी प्रदेश सभा क्षेत्रिय सभापति ‘क’ का जितेन्द्र राई र ‘ख’ का राजन पौडेल पनि ४० वर्ष भन्दा कम उमेरका रहेका छन् ।

धनकुटा जिल्लाको कांग्रेसको अधिवेशनबाट पूरै प्यानल पुरै नयाँ पस्ता नेतृत्वमा आएकाले अभिभावकहरुको अनुभव, सल्लाह, आशीर्वाद लिएर युवा शक्ति परिचालन गरी पाटीमा परिवर्तन र रुपान्तरणको अभियानलाई व्यापक संचालन गर्ने जिल्ला सचिव राईले बताए ।

नेपालकै सबैभन्दा कम उमेरका सभापति बनेका दिनेश राईले धनकुटामा कांग्रेस भित्र पूरै परिवर्तन गरी आगामी हुने सबै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराई सबैले थाहा पाउने गरी, देखिने खालको र अनुभूति हुने किसिमको पार्टी भित्र काम गर्ने विश्वास दिलाएका छन् । 



नयाँ