- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनुपर्ने बताएका छन् । बिहीबार जनकपुरमा प्रदेश नम्बर २ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उपसभापति निधीले कांग्रेसको सरकार नबने संघीय गणतन्त्रात्मक संविधानको सफल कार्यान्वयन हुन नसक्ने बताए ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता निधीले कम्युनिष्ट र तथाकथित मधेशी पार्टीले पनि संविधानको सफल कार्यान्वयन गर्न नसक्ने जानकारी गराए । संविधानको सफल कार्यान्वयनका लागि बहुमतका साथ कांग्रेस ड्राइभिङ सिटमा आउनुपर्नेसमेत उपसभापति निधिले बताए ।
उनले कांग्रेसको एकमना सरकार बन्न प्रदेश नम्बर २ मा कांग्रेसको जित सबैभन्दा बढी आवश्यकता रहेको तर्क गरे । प्रदेश २ मा नजिते देशमा कांग्रेसको एकमना सरकार सम्भव नरहेको भन्दै नेता निधीले जनताको हित र पक्षमा संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसलाई बहुमतका साथ ड्राइभिङ सिटमा आउनुपर्ने बताए ।
उनले भने, ‘प्रदेश नम्बर २ का साथीहरूलाई यसका लागि ध्यान दिन म विशेष आग्रह गर्न चाहन्छु।’
अहिले कांग्रेसकै नेतृत्वमा सरकार भए पनि गठबन्धनका कारण सोचेअनुसार काम गर्न नसकेको उपसभापति निधीले ठोकुवा गरे। निधीले आगामी सरकार कांग्रेसको एकमना सरकार नाराका साथ अधिवेशन सम्पन्न गर्न आग्रहसमेत गरे ।
‘आगामी निर्वाचनमा कांगेस कसरी जित्ने त्यसका लागि काम गर्नुपर्ने छ’, उनले भने, ‘आपसी एकता र वैचारिक प्रष्टताका साथ अगाडि बढ्न सबैलाई आग्रह गर्दछु ।’
मधेशी जनताको चाहनाअनुसार संविधान संशोधनका लागि कांग्रेसले कयौंपटक प्रस्ताव लगे पनि कम्युनिष्टले साथ नदिएको निधीले आरोप समेत लगाए ।
निधीले आगामी निर्वाचनमा प्रदेश र देश दुवै ठाउँमा कांग्रेसले जित्ने विश्वास व्यक्त गरे । ‘संविधान संशोधनका लागि हामीले पार्टीबाटै निर्णय गरिसकेका छौं, संशोधनका लागि संसदमा प्रस्ताव पनि लग्यौं र तर कम्युनिष्टले साथ नदिँदा संशोधन हुन सकेन’, उनले भने’, ‘यी सब काम गर्न कांग्रेसलाई बहुमत चाहिएको छ ।’
संविधानप्रति सबैको स्वामित्वबोध गराउन पनि कांग्रेसको सरकार चाहिने नेता निधीको दाबी छ ।