- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका नवनिर्वाचित सभापति दुर्लभ थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसले विजय हासिल गर्न पर्याप्त आधार रहेको बताएका छन् । कांग्रेस भक्तपुर सभापतिका लागि दोस्रो कार्यकालमा निर्वाचित थापाले अहिलेको महाधिवेशनबाट कांग्रेसमा सशक्त टिम खडा भएको बताउँदै यसले चुनाव जित्न ठुलो मद्दत गर्ने बताएका हुन्।
कांग्रेस जिल्ला सभापति थापाले भने, 'महाधिवेशनमा पार्टीका सबै तहका नेताहरूको जुन क्रियाशीलता छ यो क्रियाशीलतालाई निरन्तरता दिन सकियो भने आउने सबै निर्वाचनमा विजय हासिल गर्न एकदम ठूलो मद्दत पुग्छ।'
सभापति थापाले कांग्रेसको महाधिवेशन आउनै लागेका तीनै तहको निर्वाचनका लागि तयारी भएको टिप्पणी गरेका छन् । भक्तपुरका हकमा कांग्रेसको पकड राम्रो नै रहेको उनकाे दाबी छ। जिल्लामा अहिले अन्य दलसँग प्रतिस्पर्धामै रहेको बताउँदै उनले अहिलेको सक्रियतालाई अघि बढाउँदै लगेमा कांग्रेसको विजय हासिल हुने दाबी गरे।
'हाम्रो प्रभाव छ, हाम्रो कार्यकर्ता, हाम्रो क्रियाशीलता, यो अधिवेशन यी सबै कारण हामी निर्वाचनको परिणाम सकारात्मक ल्याउन सक्छौँ। पार्टीले अधिवेशन एकताबद्ध पनि बनाएको छ। एकताबद्ध महाधिवेशन हामीले सबै तहमा विवादरहित ढङ्गले सम्पन्न गरिरहेका छौँ, क्रियाशील वितरणदेखि लिएर जिल्ला अधिवेशनसम्म आइपुग्दा पार्टी झन् सुदृढ भएको छ, यस कारण हामीलाई त्यस्तो केही गारो छैन,' उनले भने।
यस्तै पार्टी एवं केन्द्रीय नेतृत्वको विषयमा उनले एक व्यक्तिले मात्रै ठुलो प्रभाव नपार्ने बताएका छन् । नेपाली कांग्रेसका नेता एवं भक्तपुर जिल्ला सभापति थापाले भने, 'नेतृत्वको विषयमा व्यक्तिले त्यस्तो खासै केही प्रभाव पार्दैन। पार्टीमा रहेको नेतृत्वलाई एकताबद्ध बनाउन सकियो भने त्यो नै ठुलो कुरा हो। नेतृत्वमा को आइसकेपछि कल्ले के गर्न सक्छ भन्ने कुरा रहँदैन। नेतृत्वको कुरा हैन, नीतिको कुरा हो कांग्रेसको नीति ठिक छ कांग्रेसको ठिक नीतिकै कारणले नेतृत्व एकताबद्ध बनाउन सकियो भने त्यही नै सबभन्दा ठुलो कुरा हो।'
आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने विश्वाससमेत उनले राखेका छन्। यस विषयमा उनले भने, 'हामीसँग एकदमै जुझारु नेतृत्व छ, प्रदेशमा पनि लगभग त्यही छ। सबै क्षेत्रमा लिङ्गका आधारमा जात जातियताका आधारमा मिलाएर हामीले टिम खडा गरेका छौँ, त्यो टिम सशक्त टिम छ र यो टिमले निर्वाचन जित्नेमा हामी ढुक्क छौँ। '
यससँगै सभापति थापाले नेपाली कांग्रेसका महाधिवेशन भव्य रूपले सफल पार्न आग्रह गरेका छन्। उनले भने, 'नेपाली कांग्रेसको ऐतिहासिक अधिवेशन सफल पार्न सबै तहका नेपाली कांग्रेसका कार्यकर्ता एकताबद्ध भएर भव्यताका साथ सफल पारौँ,'उनले अघि भने, 'यो अधिवेशनले नै केन्द्रीय अधिवेशन र मुलुकको भविष्य निर्धारण गर्ने भएकाले यो निर्वाचन भव्यताका साथ सफल पार्नका लागि सबै तहका नेता कार्यकर्तालाई हार्दिक अनुरोध गर्न चाहन्छु।'