arrow

कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार दीपक भट्टराई भन्छन्: पार्टीलाई पुरानो संस्कार र नयाँ विचार चाहिएको छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
sipak-bhattarai1.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका दीपक भट्टराईले पार्टीमा अब संस्कार पुरानो र विचार नयाँ आवश्यक भएको बताएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका उनले पार्टीमा युवाहरुलाई उचित स्थान दिनुपर्ने बताउँदै गुट र उपगुटका कारण युवाहरुको भविष्यलाई अन्धकार बनाउन नमिल्ने पनि बताए ।

‘कांग्रेसलाई अब पुरानो संस्कार अर्थात स्थापना कालको अवस्थामा लानुपर्ने बेला आएको छ । किनकी स्थापना कालमा कांग्रेसमा प्रेम, स्नेह र क्षमताको आधारमा कार्यकर्ताहरुको व्यवस्थापन हुने गर्दथ्यो । त्यसैले संस्कार पुरानो र विचार नयाँ चाहिएको हो,’ उनले भने ।

नेविसंघको महामन्त्री समेत रहेका भट्टराईले मुलुकको समृद्धि र आम चुनावमा कांग्रेसलाई विजयी गराउन पार्टीभित्र युवाहरुको उपस्थिति आवश्यक रहेकाले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए ।

‘यतिबेला कांग्रेस प्रष्ट विचारका रुपमा अघि बढ्न सकेको छैन । समुन्नत र समृद्ध मुलुक निर्माणका लागि कांग्रेसको आवश्यक्ता पर्दछ । त्यसका लागि पार्टीलाई बहुमत चाहिन्छ । बहुमत दिलाउन युवाहरुको उपस्थिति पार्टीभित्र छैन । त्यसैले मेरो उम्मेदवारी पार्टीमा युवाहरुको प्रतिनिधित्वका लागि हो’ उनले भने,‘कांग्रेसको अहिलेको विधान समावेशी भएकाले पार्टीभित्र उल्लेख्य संख्यामा युवाहरुको सहभागिता हुने विश्वास लिएको छु ।’

कांग्रेस जागरणका विभिन्न अभियानहरुमा सहभागिता जनाउँदै आएका भट्टराईले पार्टी रुपान्तरणका लागि युवाहरु सक्रिय भएर लाग्नुपर्ने धारणा राखे । 



नयाँ