- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो क्रियाशील सदस्यको संख्या साढे आठ लाख पुर्याएको छ । १३ औं महाधिवेशनमा ४ लाख ८० हजार क्रियाशील सदस्य रहेको कांग्रेसले १४औं महाधिवेशनमा सो संख्या बढाएर आठ लाख ४० हजार पुर्याएको हो ।
कांग्रेस प्रचार विभागका सदस्य दिपेश विष्टका अनुसार १४औं महाधिवेशनमा देशभर गरी ८ लाख ४० हजार १०६ जना क्रियाशील सदस्यको विवरण पार्टीले तयार गरेको अनलाइन प्रणालीमा दर्ता भएको हो । कांग्रेसले विभिन्न २०७ स्थानबाट क्रियाशील सदस्यता वितरण गरेको थियो । विवरणमा उल्लेख भए अनुसार सबै भन्दा बढी क्रियाशील सदस्य बागमती प्रदेशमा छन् । यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा छन् ।
प्रदेश १ बाट १ लाख ७४ हजार ८१३ जना क्रियाशील सदस्य छन् । यस्तै प्रदेश २ का १ लाख ९९, बागमती प्रदेशबाट १ लाख ८५ हजार ३३५, गण्डकी प्रदेशबाट १ लाख १८ हजार १४५, लुम्बिनीबाट १ लाख ३१ हजार ११७, कर्णालीबाट ५३ हजार ५९६ तथा सुदूरपश्चिम प्रदेशबाट ७५ हजार १०१ जना जना कांग्रेसको क्रियाशील सदस्य बनेका छन् ।
क्रियाशील सदस्यको उमेरअनुसारको विवरण हेर्दा कांग्रेसमा सबैभन्दा बढी ४१ देखि ६० वर्ष उमेर समूहका ३४ प्रतिशत तथा सबैभन्दा कम ७५ वर्षमाथिका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयबाट प्राप्त विवरण अनुसार १६ देखि २५ वर्ष समूहका ३८ हजार ९४२ जना क्रियाशील सदस्य छन् । सो संख्या क्रियाशील सदस्यको ४.३४ प्रतिशत हो ।
यसैगरी २६ देखि ४० वर्ष भित्रका २ लाख ४३ हजार २८७ जना छन् । सो संख्या २७.३ प्रतिशत रहेको कांग्रेसले जनाएको छ । यस्तै १६ देखि ३० वर्ष भित्रका १ लाख २३ हजार ४६२ अर्थात १३.८५ प्रतिशत क्रियाशील सदस्य पुगेका छन् ।
यसैगरी ४१ देखि ६० वर्ष भित्रका ३ लाख २१ हजार १७४ अर्थात् ३४ प्रतिशत छन् भने ६१ देखि ७५ वर्षसम्मका ८१ हजार ६४७ अर्थात् ९.१ प्रतिशत रहेका छन् । यसैगरी ७५ वर्षमाथिका ११ हजार ६२३ जना अर्थात् १.३ प्रतिशत रहेको कांग्रेस केन्द्रीय कार्यालयको विवरणले देखाएको छ ।
प्रचार विभागका सदस्य विष्टका अनुसार विवरण भर्दा केहीले भने उमेर नखुलाएका कारण केही त्रुटी पनि देखिएको छ । कांग्रेसमा सबैगरी ६ लाख ४४ हजार ५६५ जना अर्थात ७२.३३ प्रतिशत पुरुष, १ लाख ९५ हजार ३७२ अर्थात २१.९२ प्रतिशत महिला र १ सय ६९ जना अर्थात ०.०१८ प्रतिशत अन्य क्रियाशील सदस्य रहेको कांग्रेसले बताएको हो ।
कांग्रेसले तल्ला तहबाट सिफारिस भएर प्रक्रियाबाट आएका सदस्यलाई मान्यता दिएको दाबी गर्दै आएको छ ।