- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भैरहवा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भैरहवामा जारी लुम्बिनी प्रदेश अधिवेशनमा आज शनिबार मतदान हुँदैछ । १६ सय ४८ मतदाता रहेको प्रदेश अधिवेशनमा बाँकेबाट दुई जनाले पदाधिकारी सहित १६ जनाले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा संस्थापनबाट युवा नेता लक्ष्मीनारायण शाह र नेतृ माया पुनले उम्मेदवारी दिएका छन् । सदस्य पदमा अन्य १४ जनाले उम्मेदवारी दिएका छन् ।
नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा होमिएका बाँकेको कोहलपुर निवासी युवा नेता टेकनारायण भुसालले जिल्लातर्फ बाँकेबाट प्रदेश सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले सभापतिका उम्मेदवार अमरसिंह पुनको प्यानलबाट उम्मेदवारी दिएका हुन् । उनी नेविसंघ बाँकेको अध्यक्ष तथा नेविसंघ केन्द्रिय सदस्य पनि भए ।
नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव प्रेम बहादुर केसीले पनि खुला सदस्यतर्फ उम्मेदवारी दिएका छन् । नेविसंघबाट राजनीति सुरु गरेका केसी बाँके जिल्ला कमिटी सचिव पनि भएका थिए । पत्रकारितामा क्रियाशील केसी जुझारु युवा नेता हुन् ।
उनले पनि पुन प्यानलबाट उम्मेदवारी दिएका छन् । पार्टीमा निरन्तर महाधिवेशन प्रतिनिधि रहेका नेपालगन्ज निवासी युवा नेता यमबहादुर खड्काले भरत शाह प्यानलबाट खस आर्य खुला सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रिय यातायात विभागका सदस्य खड्का निरन्तर राजनीतिमा सक्रिय छन् ।
त्यस्तै युवा नेतृ अन्जना पाण्डेले पनि खुला महिलामा उम्मेदवारी दिएकी छिन् । बालकुमारी नर्सिङ कलेज भरतपुर चितवनबाट नेविसंघ राजनीति सुरु गरेकी पाण्डे कोहलपुर निवासी हुन् । उनी बालकुमारी नर्सिङ कलेजको पुर्व सभापति समेत हुन् । उनले पुन प्यानलबाट उम्मेदवारी दिएका छन् ।
यस्तै बाँकेबाट जिल्लागत खुला सदस्यतर्फ तेजेन्द्र बहादुर कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । कँडेल संस्थापनका उम्मेदवार हुन् । यस्तै जिल्लागत खुला महिलातर्फ दिक्षा कोइराला र नारायणी रुपाखेतीले उम्मेदवारी दर्ता गराएका छन् । कोइरालाले संस्थापन इतर र रुपाखेतीले संस्थापनको प्यानलबाट उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै रत्ना राणा र संगिता कुमारी थारुले पनि महिला सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । राणा र थारु संस्थापन समूहका उम्मेदवार हुन् । यस्तै आदिवासी जनजाती खुलामा संस्थापनकै फुलाराम थारुले उम्मेदवारी दिएका छन् । मधेसी खुलामा राजकुमार साहु तेलीले उम्मेदवारी दर्ता गराएका छन् । उनी संस्थापन इतर समूहका हुन् ।
मुस्लिम खुलामा संस्थापन इतरका इसाक जोलाहले उम्मेदवारी दिएका छन् । यस्तै परमेश्वरी पाठक मधेसी महिला संस्थापन इतर र कृष्ण कुमारी सापकोटा चौधरी थारु महिलातर्फ संस्थापन इतरबाट उम्मेदवारी दर्ता गराएका छन् ।