arrow

लुम्बिनीमा मतदान जारी, शाह -पुन चुनावी मैदानमा

logo
नारायण वली,
प्रकाशित २०७८ मंसिर १८ शनिबार
matadan.jpg

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा शनिवार आज नयाँ नेतृत्वका लागि मतदान जारि छ । सभापतिका लागि भरत कुमार शाह र अमरसिंह पुन प्यानल चुनावी मैदानमा छन् । अधिवेशनको शुरुवात गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेर शुभराम्भ गरे ।

संस्थापन पक्षका उम्मेदवार शाह संसदको सार्वजनिक लेखा समितिका सभापति हुन् भने रामचन्द्र पौडेल निकट पुन कांग्रेस रोल्पा जिल्ला समितिका निवर्तमान सभापति एंव पूर्वराज्यमन्त्री हुन् ।

बिहान साढे ८ बजेदेखि मतदान शुरु भएको हो । कांग्रेसको लुम्बिनी प्रदेश उपसभापतिका लागि संस्थापन बाट राजु खनाल र सुधाकर पाण्डे, पौडेल पक्षबाट भुवन श्रेष्ठ र अष्टभुजा पाठक प्रतिस्पर्धामा रहेका छन् ।

दुई महामन्त्री पदका लागि संस्थापनबाट जन्मजय तिमिल्सिना र खिमानसिंह रायमाझी, पौडेल पक्षबाट विक्रम खनाल र सुरेन्द्रराज आचार्य छन् ।

तीन सहमहामन्त्रीमा संस्थापन बाट लक्ष्मीनारायण शाह, सरिता चौधरी र मायाँ पुन, संस्थापन ईतर पौडेल पक्षबाट विष्णु खनाल मुस्कान, खगराज पाण्डे र निमा गिरी छन् ।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरुमध्ये नौ वटा जिल्लाहरुमा पौडेल पक्षले सभापति जितेको छ । रुपन्देही र बर्दियामा भने संस्थापन पक्षले सभापति जितेको छ । बाँके जिल्लाको अधिवेशन अझै हुन सकेको छैन ।

लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेश सदस्यका लागि १२ जिल्लामा जिल्लागत निर्वाचन हुनेछ । जसमा १२ जना महिला सहित २४ जना र खुलामा पाँच महिलासहित १७ जनाका लागि निर्वाचन हुने निर्वाचन समिति संयोजक बुद्ध बहादुर थापाले जानकारी दिए । लुम्बिनी प्रदेशमा प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि गरी कुल १ हजार ६ सय ४८ जना मतदाता रहेका छन् ।

त्यस्तै, समावेशी सदस्यमा खस आर्यतर्फ ४ जना महिला सहित ८ जना, आदिवासी जनजातीमा २ महिलासहित ५ जना, मधेशीमा २ महिलासहित ४ जना, दलितमा २ महिलासहित ४ जना, थारुमा २ महिलासहित ४ जना, मुस्लिम १ महिलासहित २ जना र अल्पसंख्यक वा अपाङ्गमध्ये १ जना गरी ६१ जनाको लुम्बिनी प्रदेश समिति हुने काँग्रेसको विधानमा उल्लेख छ । 



नयाँ