- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश १ को निर्वाचन विवादबीच ढिला शुरु भएसँगै आज मतदान मात्र हुने भएको छ । रातिसम्म मतदान सकेपछि आइतबार बिहानमात्र गणना हुने भएको हो ।
मतपत्रमा तीन जना उम्मेदवारको नाम छुटेपछि आज बिहान ८ बजेबाट शुरु गर्ने निर्वाचन तालिका थियो । तर दिउँसो २ः१५ बजेमात्र मतदान शुरु भएको थियो । निर्वाचन समितिका प्रमुख भरत थापाले भने, ‘प्राविधिक त्रुटिका कारण तीन जना उम्मेदवारको नाम मतपत्रमा छुट्न गएछ त्यही उल्झनले केही ढिलो हुन गयो । नेता ज्यूहरुको सहमतिमा नाम छुटेका उम्मेदवारलाई सर्वसम्मत बनाइएपछि विवाद मिल्यो ।’
थापाका अनुसार उमेदवारहरु श्याम खड्की, शान्तिकला तामाङ राई र जीवन नेपालीको नाम मतदाता सूचीमा छुटेको थियो । उनीहरुको नाम समावेश गरेर फेरि मतपत्र छाप्ने भन्ने तयारी भइरहँदा नेताहरुबीच सहमति जुटेपछि निर्वाचन प्रक्रिया अघि बढेको हो ।
सभापतिसहितका पदाधिकारी चयन गर्न १ हजार ७ सय मतदाता प्रदेश राजधानी विराटनगर आएका थिए । मतदानमा ढिलाइ भएपछि असन्तुष्ट बनेका उनीहरुले अपरान्ह मतदानस्थल विराटनगर अस्पताल छेउँको मैदानमा केहीबेर नाराबाजी नै गरे ।
चुनावमा संस्थापन र पौडेल–कोइराला समूहले प्यानल खडा गरेर भाग लिएका छन् । सभापतिमा गुरुराज घिमिरे र उद्धव थापा, दुई उप–सभापतिका लागि गोविन्द ढुंगाना, टंक राई, विश्नाथ रिजाल र रमेशजंग रायमाझी, दुई महामन्त्रीमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्वा छन् ।
यसैगरी सहमहामन्त्रीतर्फ दुई महिला र दुई खुलामा प्रमिला थापा, रोहित राई, सुभचन्द्र राई, सीता कार्की, वीरकाजी राई, विनोद कुमार बस्नेत, खड्गबहादुर फागो र इन्दिरा थापा छन् ।
सभापति पदमा पौडेल–कोइराला समूहबाट मोरङका गुरुराज घिमिरे र संस्थापनबाट झापाका उद्धव थापा छन् ।
मतगणना नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय विराटनगरमा हुनेछ ।