- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कर्णाली प्रदेश अधिवेशनबाट प्रदेश सभापतिमा पराजित भएका नेता भुपेन्द्रजंग शाहीले पद हारे पनि सुदृढ काङ्ग्रेस बनाउने सपना नहारेको प्रतिक्रिया दिएका छन् ।
उनले आफू विचलित नभइ कांग्रेस सुदृढ बनाउन लागिपर्ने बताए । उनले भने,‘जिन्दगीमा जतिसुकै दुख, पीडा,अप्ठ्यारो र कठिनाइ भोग्नु परे पनि मेरो यात्रा अविचलित र निरन्तर जारी रहनेछ।’
आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै नआत्तिकन धैर्य गरेर अघि बढ्न उनको आग्रह छ । कर्णाली प्रदेशको नेतृत्वमा निर्वाचित टिमलाई आफ्नो पूर्ण सहयोग रहने र पराजित मानसिकता नबनाउने उनको भनाइ छ । आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन आफ्नो ध्यान केन्द्रित हुने शाहीले बताए ।
सुदृढ कांग्रेस र समृद्ध कर्णाली बनाउने सपना बोकेर कर्णाली प्रदेश सभापति पदको निर्वाचन प्रक्रियामा भाग लिएको उल्लेख गर्दै उनले गुट बलियो नभई सिंगो कांग्रेस बलियो बनाउन आफूले मेहेनत गर्ने पनि बताएका छन् ।
‘निर्वाचन प्रक्रियामा पराजित हुँदा मैले प्रदेश सभापति पद गुमाएँ । तर मैले कर्णालीमा कांग्रेसलाई बलियो बनाउने सुदृढ काङ्ग्रे समृद्ध कर्णालीको सपना गुमाएको छैन । कर्णालीका आम कांग्रेसजनहरूको माया, ममता र सद्भाव धेरै नै प्राप्त गरेको छु’ उनले भने । उनी संस्थापन पक्षका ललितजंग शाहीसँग पराजित भएका हुन् ।